न्याय : हरिप्रसाद भण्डारी ( लघुकथा)
कपन अनलाइनकाठमाण्डौ ,साउन २०।
ब्वाँसोले अचाक्ली गर्यो । वन्यजन्तुका पाठापाठी खाएर बस्नै नसक्ने बनायो ।
मृग, जरायो, खरायो आदि शाकाहारी जनावर बसेर छलफल गरे । ब्वाँसोविरुद्धमा वनका राजा सिंहकहाँ उजुरी गर्ने सहमति भयो ।
‘प्रभु ! ब्वाँसोले अचाक्ली ग¥यो । हाम्रो त वंशै नाश हुने भयो । कारबाही गर्नु पर्यो !’ सबैले एक स्वरमा बिन्ती गरे ।
जनावरहरूका कुरो सुनेपछि रिसाउँदै सिंहले भन्यो, ‘ए ! त्यसको त्यत्रो हिम्मत ? पख्, त्यसलाई ठेगान लाउँछु ।’
सिंहको कुरा सुनेर जनावरहरू खुसी भए । आपसमा कुरो गरे, ‘राजा भनेका राजै हुन् ।’
त्यसपछि सिंह डुक्रियो, ‘त्यो दुष्ट ब्वाँसोलाई तुरून्त हाजिर गराउनु ।’
सिंहले दुष्ट ब्वाँसोलाई कडा कारवाही गर्छन् भन्ने कुरामा जनावरहरू आशावादी भएका थिए । त्यै बेला टाँगमुनि पुच्छर लुकाउँदै ब्वाँसो हाजिर भयो ।
उपस्थित जनावरहरूले आँखा झिमिक्क नपारी त्यो दृश्य हेरिरहे ।
ब्वाँसो उपस्थित भएपछि रिसले आगो हुँदै सिंहले ब्वाँसोलाई आफ्नो नजिक बोलायो । जनावरहरू झन् उत्साहित भए । उता सिंहले ब्वाँसोको काननिर आफ्नो मुख जोडेर साउती गर्यो , ‘धूर्त ब्वाँसा, मृग र जरायोको मासु तँ मात्र एक्लै खाने ? मेरो भाग खै ?’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।