आमा म निसास्सिएको छु : प्रतिक शर्मा (कविता )

आमा म निसास्सिएको छु : प्रतिक शर्मा (कविता )

कपन अनलाइन

काठमाडौ,साउन १३ ।

जीवन भोगाईको दौडानमा आमा
म धेरै पटक निसास्सिएको छु,
असल काम गर्नु, खराब काम नगर्नु,
भन्नु हुन्थ्यो नि तपाईले आमा,
तर, असल खराब र खराब असल हुने रहेछ यहाँ ।
तपाईले इज्जत कमाउनु, सेवा गर्नु भन्नु हुन्थ्यो नि आमा,
तर याँहा त पैसा कमाउने र लुट्नेहरुको जमात मात्रै देख्छु,
तपाईले दिनुभएको आदर्श खाराब कि समाज आमा ?

म अन्यौलमा परेको छु,
जता जान्छु कमिसन, घुस, भ्रष्टचार मात्र देख्छु आमा,
यसैलाई स्वीकार गरुँ तपाईले दिनुभएको आदर्शले छेक्छ,
स्वीकार नगरौं, म घेराबन्दिमा पर्छु आमा ।

याँहा भ्रष्टहरुको पो जय–जय गाइन्छ आमा,
चिल्ला गाडिमा वेकम्फुसेहरुले सलाम खाइरहेको देख्दा,
असल कर्म गर्नेहरुलाई कष्ट र छल गरी घुमाई रहँदा,
म ‘कन्फ्यूजमा’ पर्ने गर्दछु आमा ।

म भित्र भित्रै निसास्सिएको छु ,
बैंकको ब्याज, किस्ता, स्कुलको फि,
घरभाड यी त सामान्य जस्तै भए आमा
सयौं मजदुरले परिश्रम गरेको रकम भुक्तानी लिन जाँदा पनि पटक–पटकको सास्ति
कमिसन नपाएसम्म गरिने व्यवहारले नी
आँफै भित्र ज्वालामुखी लुकाएर बसेको छु आमा ।

पहिला पहिला सरकार छ न्याय दिन्छ भन्नु हुन्थ्यो नि आमा,
अहिले त ति सबै न्याय दिन बस्नेहरुको ज्यादति हेर्दा,
यस्तो लाग्छ नि आमा
सरकार न्याय दिन हैन लुट्न बसेको छ,
अनि, तपाईले दिनुभएको आदर्शले
म भित्र भित्रै मरेर बाँचेको छु आमा ।

आदर्श र असल भन्ने दुवै कुरा
तपाई जस्तै बुढो भएछन आमा,
तिनले आँखा पनि देख्दैनन् र सुन्न पनि छाडेछन आमा ।।
मैले कैयनपटक घच्घच्याए तर आदर्श उठेन आमा,
मैले कैयनपटक बोलाएँ असल ले पनि सुनेन आमा ।।

म थाकिसकेँ आमा,
यी सबै घेराबन्दिमा परेका छन् आमा,
लुटले, भ्रष्टचारले, अन्यायले, वेथितिले, हत्याले,
बलत्कारले, कु–शासनले
थिचेर राखेको छ आमा आदर्श र असललाई ।।

म भित्रबाट आदर्श र असलले चित्कार गर्दैछन आमा,
तर म एक्लै केही पनि गर्न सक्दिन आमा
मैले कोसिस गरेँ लुटलाई, भ्रष्टचारलाई, वेथितिलाई, हत्यालाई, बलत्कारलाई र कु–शासनलाई
आदर्श र असललाई स्वतन्त्र गराउन
तर तिनिहरुले मानेनन् आमा ।

भन्दैछन अहिले हाम्रो बेला हो,
यो सुन्दै गर्दा म भित्रको आदर्श र
असल छटपटाई रहेछन् आमा ।
‘आमा म निसास्सिएको छु ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।