हाम्रो निधि : गंगा लिगल (कविता )
कपन अनलाइन
काठमाण्डौ , साउन ६।
तिमी ध्रुवतारा हौ
ताराबीच उदाउने
अटल भै सौम्य रुपमा
आदर्शको पाठ पढाउने
कति अवरोध आए
बाधा र चुनौती आए
तिम्रो जीवनमा
साहित्यरुपी हतियारको
समाधान गर्दै बढिरहे
तिम्रा अग्रगामी पाइलाहरु
बरु पछि हटेनन्
जुन पाइलालाई
उन्नतीले स्वयम् चुम्न आयो
तिम्रा अनुकरणीय पदचापलाई
आज हाम्रो चुम्ने पालो हो
तिमी राष्ट्रका कुवेर हौ
भने,
तिमीले छाडेका
भाषा साहित्यको भण्डार
हाम्रो निधि हो
जुन तिमीले छाडेर गएका छौ
यो धरोहर हो हाम्रो
यसको मूल्य र मान्यतालाई
सकारेर यसलाई
नौलो अनि चोखो
अपूर्व वस्तुको रुपमा
पारदर्शीमय बनाई विश्वसमक्ष
अनमोल मोतीको रुपमा
प्रस्तुत गर्नु छ
यही सङ्कल्प लिई
एकता र समताको
नाराले
शिखर चुम्न
सम्पूर्ण नेपालीको
कवित्व भावना
वनचरले गाएको
रमाइलो गाउँ
सुरम्य प्रकृतिले
वास गरेको
रमणीय ठाउँ ।
सुन्दर हिमश्रृङ्खलाबाट
झरझर गर्दै
अविरल झरेको पानीले
निरन्तर प्रवाहित ।
पवित्र नदीको वहाव
ठाउँठाउँको
उँचो पहाडबाट झरेको
कञ्चन झरना
पहाडमा हाँसेको गुराँस ।
फेदीमा रमाइरहेको
लालुपाते
हरिया धानका बाला
खेतका कान्ला कान्लामा
घुमिहिँड्ने ग्रामीण बाला
त्यस स्वर्गीय
आनन्दस्थलमा
सिर्जिएको कवित्व
भावनाको लहर
जलथल भएर ।
आज
नेपाली धरती
मात्र होइन
सारा विश्वमा
सुवासित भैरहेछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक