निजी विद्यालयका शिक्षकले योगदानमा आधारित निवृत्तिभरण पाउनुपर्ने निस्टाको माग

निजी विद्यालयका शिक्षकले योगदानमा आधारित निवृत्तिभरण पाउनुपर्ने निस्टाको माग
कपन अनलाइन
काठमाण्डौ ,असार १२ ।

नेपाल लोकतान्त्रिक निजी तथा संस्थागत विद्यालय शिक्षक संघ(निस्टा)ले निजी विद्यालयमा कार्यरत शिक्षकलाई योगदानमा आधारित निवृत्तिभरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

निस्टाको गण्डकी प्रदेश कार्यसमिति बैठक तथा कास्की जिल्ला भेलामा सो माग अघि सार्ने निर्णय गरिएको हो । प्रमुख अतिथिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै निस्टा केन्द्रीय अध्यक्ष भोलानाथ चालिसेले हाल निजामती कर्मचारी र सुरक्षा निकाय तथा संगठित संस्थाका कर्मचारीलाई मात्र दिँइदै आएको योगदानमा आधारित निवृत्तिभरण  कार्यक्रमलाई निजी विद्यालयसम्म विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएका थिए  ।

अध्यक्ष चालिसेले निजी विद्यालयका शिक्षकको हकहित, पेशागत सुरक्षा, क्षमता अभिवृद्धि र निस्टाको सांगठनिक विकास एवं विस्तारमा हातेमालो गर्न सबैलाई आह्वान गरे । सो अवसरमा नेपाली काँग्रेस कास्की जिल्ला सभापति किशोरदत्त बरालले शिक्षालाई उद्यमशीलतासँग जोड्दै मर्यादित र अनुशासन बनाउन निजी विद्यालयका शिक्षकलाई अनुरोध गरेका थिए  ।

नेपाल शिक्षक संघ गण्डकी प्रदेश अध्यक्ष शिरोमणि शिरोमणि लामिछाने र शिक्षक संघ कास्कीका अध्यक्ष राजु क्षेत्रीले निजी र सामुदायिक विद्यालयका शिक्षकबीच सहकार्यको आवश्यकता औँल्याउँदै दुवैले समानान्तर रुपमा संघर्ष तथा गतिविधि अघि बढाउनुपर्नेमा जोड दिएका थिए  । कार्यक्रममा  विभिन्न संस्थागत विद्यालयका शिक्षकको उत्साहजनक सहभागिता रहेको थियो ।

यसैबीच निस्टा केन्द्रीय अध्यक्ष चालिसेले गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डे, प्रदेश प्रमुख  पृथ्वीमान गुरुङ र गण्डकी प्रदेशसभा सदस्य नन्द न्यौपाने लगायतसँग पोखरामा निस्टा कास्की अध्यक्ष छविराज पौडेल, गण्डकी प्रदेश अध्यक्ष गुरुदत्त दवाडी सम्मिलित प्रतिनिधि मण्डलले समसामयिक एवं सांगठनिक विषयमा छलफल समेत गरेको जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।