नक्कली भूटानी शरणार्थी प्रकरण :बुढानिलकण्ठ मण्डिखाटारबाट बुढाथोकी पक्राउ

नक्कली भूटानी शरणार्थी प्रकरण :बुढानिलकण्ठ  मण्डिखाटारबाट बुढाथोकी पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,असार १२ ।

नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाई रकम ठगी गरेको मुद्दाका फरार एक प्रतिवादीलाई आज प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार प्रहरी टोलीले आरोपी आशिष बुढाथोकीलाई मण्डिखाटारबाट पक्राउ गरेको हो ।

गिरोहले सङ्कलन गरेको रकम उनको खातामा समेत आएको देखिएको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो । सोही आधारमा जिल्ला अदालत काठमाडौँमा विचाराधीन रहेको मुद्दामा उनी फरार सूचीमा थिए ।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले उक्त प्रकरणमा पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी, बालकृष्ण खाण, तत्कालीन बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईसहित ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

उक्त मुद्दामा जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशले पक्राउ परेका १८ मध्ये १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने दुईजना लक्ष्मी महर्जन र टङ्क गुरुङलाई जनही रु पाँच र १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उनीहरूविरुद्ध ठगी, सङ्गठित अपराध, राज्यविरुद्धको अपराध, कीर्तेलगायत पाँच मुद्दा चलाइएको छ ।

तपाइँको प्रतिक्रिया ।