शिवपुरीमा पर्या पर्यटन : अर्जुन प्रसाद पाण्डे

शिवपुरीमा पर्या पर्यटन : अर्जुन प्रसाद पाण्डे

कपन अनलाइन

काठमाण्डौ ,असार १० ।

समुद्र सतह देखि १३५०—२७३२ मिटरको उचाइमा अवस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज राजधानी शहर देखि १२ कि मि उत्तरमा पर्दछ । नेपालको मध्य पहाडी क्षेत्रको जैविक विविधतायुक्त प्रतिनिधी बन क्षेत्रको रुपमा विकास गरिएको कारणले यसको महत्व अन्यको भन्दा विशेष छ । नेपालका राष्ट्रिय निकुन्जहरु या त तराइ क्षेत्रका जंगललाइ संरक्षण गरि स्थापना गरिएका छन् या ति हिमाली क्षेत्रमा छन् । राजधानी शहरको नजदिक रहेको यो नै एकमात्र राष्ट्रिय निकुन्ज हो । यस अर्थमा शिवपुरीको महत्व विविध रुपले बढेको छ । काठामाडौं शहरको निम्ति पिउने पानी आपूर्ति हुने दुइ प्रमुख नदिः बागमती र बिष्णुमती को मुहान यहि क्षेत्रमा पर्दछ । यसर्थ पनि यो इतिहास काल देखि नै काठमााडौंको जनजीवनसंग जोडिन पुग्यो । यस जलाधार क्षेत्रको संरक्षणको निम्ति सन् १९७६ मा शिवपुरी जलाधार संरक्षण बोर्ड गठन गरि त्यस अन्तरगत संरक्षण सुरु गरियो । सन् १९७८ मा शिवपुरी संरक्षित जलाधार क्षेत्र कायम भयो भने लगत्तै १९८४ मा शिवपुरी जलाधार तथा बन्यजन्तु आरक्षण घोषणा गरियो । त्यसको झण्डै १८ बर्ष पछि सन् २००२ मा यस संरक्षित क्षेत्रलाइ शिवपुरी राष्ट्रिय निकुन्ज घोषणा गरियो । काठमाडौं, बालाजु माथीको रानीबन, नागार्जुन डाँडा सन् २००८ अघि सम्म राजा विरेन्द्रको नाममा रहेको नीजी बन थियो तर उनको बंश विनास भएको र लगत्तै देशमा राजनैतिक परवर्तन भएकोले तत्कालिन राजाको नाममा रहेको सो १५ बर्ग किमि जंगललाइ समेत निकुन्जमा समेटियो । यसरी अन्तत पूर्वमा जहरसिंग पौवा (कागेश्वरी) देखि पश्चिम भीम ढुंगासम्मा काठामाडौं, नुवाकोट, सिन्धुपाल्चोक र धादिंग जिल्लाको विचमा यो निकुन्ज १५९ बर्ग कि मि मा फैलियो । यसको नाम शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज रहन गयो ।
शिवपुरीको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यस क्षेत्रमा रहेको नदिको मुहान, पानीको श्रोत हो । यति हुँदा हुँदै पनि यो जंगल यस क्षेत्रका मानिसहरुको धार्मिक, साँस्कृतिक र सामाजिक पक्षसंग पनि घनिष्ट जोडिएको छ । त्यसो त जंगलको उपयोगिता मानव सभ्यताको इतिहाससंगै जोडिएको विषय हो । जंगलले शुरुका दिनहरुमा मानिसलाइ पानीको अलावा बन पैदावार, बन विचरण गर्ने र शिकार खेल्ने ठाउँ दियो । साथै यस भित्रका प्रशिद्ध स्थल विष्णुद्धार, बागद्धारा, जामाचो, आदि स्थानहरुमा मानिसहरुले साँस्कृतिक पर्वहरु मनाउन थाले । यसरी शिवपुरी जंगल यस क्षेत्रका मानिसका सामाजिक साँस्कृतिक जीवनमा जोडिँदै विकास भएको छ । यो अत्यन्त सुखद पक्ष हो ।
पर्यटकीय गतिबिधि
कुनै पनि राष्ट्रिय निकुन्ज घोषणा हुनु भनेको त्यस्तो संरक्षित क्षेत्र पर्यटनको निम्ति खुला गर्नु हो । निकुन्ज घोषणा पश्चात स्वभावत, यहाँ पर्यटनको गतिविधि बढ्न थाल्यो । यद्यपि सोही क्रममा जलाधार संरक्षण गर्ने, पर्यटन विकास गर्ने, जैविक विविधताको संरक्षण गर्ने र जैविक विविधता संरक्षण शिक्षा केन्द्र नमुनाको रुपमा विकास गर्ने, जस्ता उद्देश्य राखिएका थिए । ति मध्ये अघिल्ला दुइ उद्देश्य पूरा हुँदैछन् भने जैविक विविधता संरक्षण शिक्षा केन्द्रको नमुना बनाउने तर्फ खासै काम भएको देखिँदैन । जे होस्, यतिबेला यहाँ आन्तरिक र बाह्य पर्यटन बढिरहेको छ र यहाँ उठाउन खोजिएको विषय भनेको यस क्षेत्रमा पर्यटनको थप के कस्ता संभावनाहरु छन् ? पूर्वाधार विकास कसरी गर्ने ? सरकारी र स्थानीय निकायको समन्वय कसरी गर्ने ? बृहत्तर योजनाहरुमा निजी क्षेत्रलाइ कसरी समेट्ने ? अझ महत्वपूर्ण त यहाँको संरक्षित जैविक विविधताको अस्तित्वलाइ खलल नपारी कसरी यसको पर्यटकीय उपयोग गर्ने ? भन्ने नै होे । संरक्षणको नाममा कुनै पनि मानिवीय गतिविधिलाइ पूर्ण निषेध गर्नु वा पर्यटनको नाममा जथाभावी प्राकृतिक सम्पदाको दोहन गर्नु दुवै गलत हुन् । यसर्थ सम्पदाको प्राकृतिक स्वरुप र वातावरण कायम राख्दै त्यसको यथोचित उपयोग गर्नु आजको पर्या पर्यटनको मक्सद हो । त्यसो त पर्यटनमा नयाँ नयाँ सोच र अभ्यासहरु विकास भैरहेका पनि छन् । गुर्जे भन्ज्यांग नजिक सुइरे चौरदेखि प्याराग्लाइडिंग, गुर्जेमा रिसोर्ट र टाउट माछा, शिवपुरी धापमा बाँध बाधेर जलाशय निर्माण आदि कार्यले यहाँ पर्यटनको आयाम थप फराकिलो हुँदै गएको प्रष्ट देखिन्छ । निकुन्ज भित्र र यसको आसपास पर्यटकीय गतिबिधि दिनानुुदिन बढिरहेकै छ ।
जंगल जीप सफारी
हालै केही महिना देखि यस निकुन्ज अन्तगर्तको रानीबन ( नागार्जुुन, जामाचो ) मा जीप सफारी सुरु गरिएको छ । यो सफारी रानीबन फुलबारी गेटदेखि शुरु भै माथी जामाचो स्तुपा पुगेर करिब ४ । ५ घण्टामा उहि बाटो फर्केर समाप्त हुन्छ यद्यपि यो सफारीको दुरी र समय विस्तार गर्न सकिने प्रसस्त संभावना र आधार छन् । रानीबन र शिवपुरी जंगल जोडिएको छैन । विचमा ५ । ७ कि मि गाउँ र बस्ती छ । यस्तो जीप सफारी ककनीबाट सुरु गरि नुवाकोट सिम्ले, खरिभंज्यांग, सुइरे चौर, गुर्जे भन्ज्यांग, डाँडागाउँ हुँदै बुढानिलकण्ठ सम्म विस्तार गर्न सकिन्छ । बुढानिलकण्ठ देखि ककनी सम्मको बाटो ट्याक तैयारै छ, थोरै स्तरोन्नति गर्र्नु पर्ने हुन्छ । अबको योजना दीर्घकालिन सोच राखि बनाउँनु पर्छ । यदि ट्याक खोल्न सके यस्तो जंगल सफारी बुढानिलकण्ठ, नागी गुम्बा, तारेभीर हुँदै धाप ड्याप जलासय सम्म तन्काउन सकिन्छ । उत्तर तर्फका गणेश हिमाल, लांगटांग, दोर्जे लाक्पा, पूर्वि च्याचु आदि हिमश्रृंखला हेर्दै, आनन्द लिँदै, सिम्ले स्थानीय तामांग बस्तीमा थोरै आराम गरेर धाप जलासय सम्मको आनन्ददायी यात्रा गराउने हो भने काफी मात्रामा विदेशी तथा स्वदेशी पर्यटक आकर्षण गर्न सकिन्छ । निकुन्ज संगै रहेको राजधानी शहरमा ठूलो जनसंख्या छ । एउटा ब्यस्त मानिस थोरै फुर्सत लिएर प्रकृतिसंग रमाउन चाहन्छ । यहाँ बाह््य मात्र होइन आन्तरिक पर्यटनकै अथाह संभावना छ । साँच्चै बुढानिलकण्ठ, शिवपुरी धार्मिक साँस्कृतिक लगायत पर्या पर्यटनको समेत हब बन्न सक्छ । यसले स्थानीय जनतालाइ रोजगारी र राज्यलाइ राजस्व दोहोरो फाइदा दिन्छ ।
जंगल पदयात्रा
शिवपुरी जंगल पदयात्रीहरुको रोजाइ हुने गरेको लामै समय भएको छ । सुरुका दिनहरुमा यहाँका स्थानीय मानिसहरुले घाँस दाउरा लिन जंगल जाने गर्दथे । निकुन्ज घोषणा भैसकेपछिको अवस्थामा प्राकृतिक बाताबरणमा लामो या छोटो हिँडाइ हिँड्ने र उचाइबाट काठमाडौं शहर र उत्तरका हिमश्रृंखला अवलोकन गर्ने पदयात्रीहरु यता लोभिएका हुन् । बुढानिलकण्ठ मन्दिर देखि शिवपुरी चुचुरो सम्म एक दिनको पदयात्रा (हाइकिंग) सबैभन्दा प्रचलिनत र लोकपृय छ । यसको अलावा, विष्णुद्धार, बागद्धार, नागी गुम्बा, तारेभीर भिन्न भिन्न पदयात्रा रुटहरु छन् । कपन गुम्बा, जगडोलदेखि तारेभीरसम्मको पदयात्रा अर्को लोकपृय रुट मानिन्छ । यस्तै शिवपुरी चुचुरो हुँदै चिसापानी, धाप, सुन्दरीजल हुँदै दुइदिनको पदयात्रा रुट पनि प्रचलित मध्ये कै पर्दछ । जंगल पदयात्रामा जंगली जन्तुः लंगुर, चरीबाघ, ध्वाँसे चितुवा, हरिण, बनेल आदि र विविध चराहरु हेर्ने अवसर लिन सकिन्छ ।
र अन्तमा,
हाम्रा राष्टिय निकुन्जहरु नेपाल सरकार बन तथा बातावरण मन्त्रालय अन्तरगत पर्दछन् । यसर्थ यो तेपाल सरकारकै स्वामित्व छ तर शिवपुरी नागार्जुन राष्टिय निकुन्ज राजधानी लगायत चार जिल्लिाको बिचमा छ र यहाँको बन पैदावार देखि जैविक बस्तुहरु यहाँका स्थानीय बासिन्दाहरुले उपयोग गर्दै आएका हुन् । यहाँ पर्यटनको विकास हुँदै गर्दा नीतिगत तहबाट योजनाहरु बनाउँदा यि सबै पक्षहरु लाभान्वित हुने तर्फ ध्यान दिनै पर्दछ । यसैपनि राजधानीसंगा जोडिएको निकुन्ज प्रति आन्तरिक या बाह्य पर्यटकको अपेक्षा केही बढि नै हुन्छ । समुदायको आर्थिक जीवनसंग नजोडिएका योजनाहरुमा मानिसले अपनत्व हुन्न । यसर्थ निकुन्जमा हुने कुनै पनि पर्यटकीय गतिविधी तथा योजनाहरु पब्लिक पार्टनरशीपको अवधारणा अनुरुप सन्चालन गर्नु बान्छनिय हुन्छ । साथै निकुन्जसंग जोडिएका विशेष गरि तारकेश्वर, टोखा, बुढानिलकण्ठ, गोकर्णेश्वर र कागेश्वरी मनहरा जस्ता पालिकाहरु एक ठाउँमा आइ यस क्षेत्रको एकिकृत पर्यटन विकास र पूर्वाधार निर्माणमा जुट्नु पर्दछ । यसो गर्न सके यहाँ श्रृजनाहुने रोजगारी लगायत विविध आर्थिक उपार्जनका अवसरहरुबाट यहाँका स्थानीय समुदाय लाभान्वित हुन पाउनेछन् । यसले निकुन्जको सुरक्षा र संबद्र्धनमा समेत स्थानीयको साथ र सहयोग मिल्नेछ ।
अर्जुन पाण्डे,
(पर्यटन व्यावसायी तथा अध्यक्ष, बुढानिलकण्ठ पर्यटन बोर्ड)

तपाइँको प्रतिक्रिया ।