पारदर्शिता : गङ्गा आचार्य सापकोटा (कविता )

पारदर्शिता : गङ्गा आचार्य सापकोटा (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असार २ ।

भाइ भाइको वैर भावले
शक्ति सानको मोह मातले
वर्ग वर्गमा राय बाँडियो
खण्ड खण्डमा देश टुक्रियो ।।१।।

छैन देशको कत्ति चिन्तना
उच्च सोचले कार्य गर्नमा
कार्यकारिणी उफ्रँदै सधैँ
पाउ तान्नमै व्यस्त छन् सबै ।।२।।

काम काइदा ऐन रीतिको
पालना कतै छैन नीतिको
झन् थिचोमिचो दीनमा भयो
न्याय फाँटमा स्वार्थ साँधियो ।।३।।

गाँस बासको जोरजाममा
बाध्य छन् युवा देश छोड्नमा
दूरको थलो उर्वरा भयो
मातृभूमि यो जीर्ण देखियो ।।४।।

उच्च निम्नमा एकरूपता
हुन्छ भन्दथे त्यो भयो कथा
देखिएन खै सौम्य सभ्यता
लोकतन्त्रमा पारदर्शिता ।।५।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।