माघ १५ अगाडि स्थानीय निकायको निर्वाचन गराउन सकिँदैन: आयुक्त यादव

झापा, २१ असार । निर्वाचन आयोगका आयुक्त अयोधीप्रसाद यादवले माघ १५ भन्दा अगाडि स्थानीय निकायको निर्वाचन गराउन नसकिने बताउनुभएको छ ।

आज दिउँसो बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिले स्थानीय निकायको निर्वाचनसम्बन्धी कुनै कानुन नबनेकाले आयोगले निर्वाचनसम्बन्धी जतिसुकै तयारी गरेपनि त्यो पूर्ण नहुने बताउनुभयो । “स्थानीय निकायको निर्वाचन गराउन हामी सक्षम छौँ’” उहाँले भन्नुभयो, “हामी जतिसुकै सक्षम भएपनि संविधानसभाको निर्वाचन जस्तो एकै पटक स्थानीय निकायको निर्वाचन गर्न सम्भव भने छैन ।” संविधानसभाको निर्वाचन जस्तो हिमाल, पहाड र तराईमा एकैपटक स्थानीय निकायको निर्वाचन गराउन उपयुक्त नहुने धारणा राख्दै आयुक्त यादवले स्थानीय निकायको निर्वाचनसम्बन्धी कानुन ल्याउनेवित्तिकै आयोग त्यसको तयारीमा लाग्ने छ भन्नुभयो ।

आयोगले स्थानीय निकायको निर्वाचनका लागि मतदाता रुजु गर्ने काम सकेको बताउँदै उहाँले कुल मतदाताको सङ्ख्या एक करोड ३० लाख पुगेको जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।