बुढानिलकण्ठको सार्वजनिक सुनुवाईमा मिठाराम अधिकारी र बिनोद चालिसेको रोचक “जुहारी”
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १३।
बुढानिलकण्ठ नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी र नगर प्रमुख पदका प्रत्यासी बिनोद चालिसे विच रोचक “जुहारी” चलेको छ।
बुढानिलकण्ठ नगरपालिकाको प्रांगणमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा २०७९ साल बैशाख ३० गते भएको निर्वाचनमा प्रतिस्पर्धी रहेका दुई नेता विच आरोप प्रत्यारोप भएको हो।
सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता समेत रहेका चालिसेले बुढानिलकण्ठ नगरपालिकाले मनपरी रुपमा कर्मचारी भर्ना गरेको र कुनैपनि सार्वजनिक सरोकारका विषयमा विपक्षी दल संग सल्लाह र छलफल नगरी एकलौटी काम गरेको भन्दै आक्रोस पोखेका थिए।
त्यस्तै उनले नगरपालिकाका केहि जनप्रतिनिधिहरु विभिन्न काण्डमा मुछिदा पनि नगरपालिका मौन बसेको आरोप लगाउदै विकास निर्माण र अन्य काममा विभेद गरिएको भन्दै दुख व्यक्त गरेका थिए।
सार्वजनिक सुनुवाईमा उठेका प्रश्नहरुको जवाफ दिदै नगर प्रमुख अधिकारीले चालिसेको लगाएको आरोप निराधार रहेको धारणा राख्दै आफुले निरन्तर विपक्षी दलहरु संग छलफल गरेर अगाडी बढेको बताएका थिए।
सुशासन र विकासमा विभेद गरेको चालिसेको आरोपको जवाफ दिदै अधिकारीले २०७९ बैशाख ३० गते जनताले नपत्याएका चालिसेलाई आफ्नै पार्टीले समेत नपत्याएको भन्दै कटाक्ष गरेका थिए।
त्यस्तै नगरपालिकाका जनप्रतिनिधि प्रति लक्षित गर्दै प्रमुख अधिकारीले भोट माग्ने बेलमा जनतालाई सत्र पटक नमस्कार गर्ने अनि अहिले जनता काम लिएर आउँदा नमस्कार खोज्ने प्रवृति अन्त्य हुनुपर्ने भन्दै सार्वजनिक सम्पतिको उपयोग र प्रयोगमा आफु सधै सजग रहेको धारणा राखेका थिए।
सार्वजनिक विदाको दिन आफुले सधै आफ्नो निजि स्कुटर प्रयोग गरेर जनताको काममा खटेको दावी गर्दै प्रमुख अधिकारीले बुढानिलकण्ठ नगरपालिकाले सुशासन र जनताको सेवामा कसै संग र कुनै पनि किसिमको सम्झौता नगर्ने बताएका थिए।