बत्ती उज्यालो बलोस् : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ६ ।
नेपाली गरिमा उठाउन सके हाँस्थिन् मुसुक्कै धरा
आओ लेख्नु पर्यो सशक्त कविता शार्दूल वा स्रग्धरा
पढ्नेले पनि स्वाभिमानतिरको बाटो समाऊन् रमी
सुन्नेको मन भावमा कति नहोस् उत्प्रेरणाको कमी ।
गाऊन् जागृति गीत हल्हल बढी वैशाखका पालुवा
जाऊन् धार समाउँदै प्रगतिको ढुङ्गा तथा वालुवा
बोलून् कोकिल कण्ठले सुरसिलो मैत्रीयताको रस
छोड्दै केवल स्वार्थ जप्न दुनियाँ सत्कर्म गर्दै बस ।
जैल्यै हाँस्न सिकाउँछन् हिमचुली पारेर ठाडो शिर
बन्नै पर्छ स्वयं दरो अनि खरो को बस्छ मान्दै पिर
यी खोला खहरे विलाप नगरून् सम्झी गुनासा व्यथा
हो विश्राम युवा लिँदैन नरची नौला सुनौला कथा ।
फर्कन्छौ कहिले स्वदेश भन हे मुग्लान पस्नेहरू
छर्नेछौ कहिले मिली श्रम सफा नेपाल बस्नेहरू
कैले हट्छ व्यथा भनेर जननी कुर्दै डराऊँन् कति
छाती चस्चस दुख्छ खप्न गरिबी भन्दै हराऊन् कति ।
मैले सुन्नु छ नित्य घात घटना हत्या बलत्कारका
गाह्रो पर्दछ आज भेट्न जगमा मान्छे सदाचारका
स्वार्थै स्वार्थ बढेर धुम्म छ सधैँ कैले उज्यालो हुने
ऐले चिन्तन गर्छ को लय दिई त्यो टाकुरामा छुने ।
दाताको कति दान थाप्नु नलिने सङ्कल्प हामी गरौँ
आमाको अनुहार फुङ्ग छ निको सौन्दर्य हामी भरौँ
यो स्वार्थी लुटको निचो प्रवृतिमा मुक्का लगाऊँ ढलोस्
सत्कर्मी रथको विकास पथको बत्ती उज्यालो बलोस् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक