फूल फुलेको : रमेशचन्द्र घिमिरे (बाल कविता)
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १६।
कति राम्रो रातो छ, सिम्रिकको रङ्ग
त्यही रङ्ग मिसाउने हो मैले फूलसँग
बास्ना आउँदा सरर्र मनै भुलेको
फूलबारीमा रातो रातो फूल फुलेको
सुकिलो र सेतो छ, बादलुको रङ्ग
त्यही रङ्ग मिसाउने हो मैले फूलसँग
बगैँचामा पुतली हेर डुलेको
फूलबारीमा सेतो सेतो फूल फुलेको
उज्यालो र नीलो छ आकाशको रङ्ग
त्यही रङ्ग मिसाउने हो मैले फूलसँग
हेर आकाश झर्लक्क कस्तो खुलेको
फूलबारीमा नीलो नीलो फूल फुलेको
कति राम्रो छिर्बिरे इन्द्रेनीको रङ्ग
त्यही रङ्ग मिसाउने हो मैले फूलसँग
एकै ठाउँ सातवटै रङ्ग घुलेको
फूलबारीमा रङ्गीचङ्गी फूल फुलेको ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।