पाण्डुखोला थुनिँदा जोमसोममा त्रास
१७ असार । जोमसोम र कागबेनीका बीचमा पर्ने पाण्डुखोला थुनिएपछि सदरमुकाम जोमसोमका सर्वसाधारण त्रसित बनेका छन् ।
बुधबार दिउँसोदेखि चार घन्टासम्म खोला थुनिँदा जोमसोमका सर्वसाधारण त्रसित बनेका हुन् । हिउँदमा जमेको हिउँ माटोसँगै पग्लँदा खोला थुनिने र आफैँ खोलिने हुँदा खोला आसपास र कालीग्ण्डकी नदी किनारका बस्तीलाई उच्च सुरक्षा सर्तकता अपनाउन आग्रह गरिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक अर्जुन श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार बुधबार दिउँसो थुनिएको खोलाले आफैँ निकास खोलेपछि सम्भावित मानवीय र भौतिक क्षति टरे पनि जोखिम भने पूर्णरुपमा हटिसकेको छैन । “ठाडोखोला भएकाले निरन्तर थुनिने र खोलिने क्रम छ, त्यसले कालीगण्डकीको बहावलाई बढाउँछ, अनि त्यसको असर कालीगण्डकी तटीय क्षेत्रमा पर्छ, प्रनाउ श्रेष्ठले भन्नुभयो, “जोमसोमका सर्वसाधारणलाई उच्च सर्तकतामा राखेका छौँ ।”
विनाशकारी भूकम्प र त्यसपछिको परकम्पले नदी किनारका जमिनमा थप बाढी आउन खतरा पनि यथावत रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । एक अध्ययनअनुसार जिल्लाका कागबेनी, छोसेर, जोमसोम, मार्फालगायतका बस्ती नदी कटानको उच्च जोखिममा परेका छन् ।