परिवेश : लता के सी (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १८।
‘को को के के खाने ?’ चमेना गृहमा पसेका उनीहरू सबैलाई आयोजक पक्षले प्रश्न राख्यो ।
केही महिलाले भने, ‘आज व्रत छ, फलफूलमात्र खाने ।’
सबैले इच्छानुसार खाना मगाए । भने बमोजिमका खानाहरू टेबलमा आइपुगे । ब्रतालुहरू अर्को टेबलमा अलग्गै बसे ।
प्रस्तोता रीताले चिकेन मःमःमुखमा हाल्दै भनिन्, ‘कार्यक्रम सुरू गरौँ ?’
ब्रतालुहरू बी चखासखुस चल्यो, ‘व्रत बस्नु पर्ने दिन, अझ मम खाँदै पो, लाज नभएकी नकच्चरी, पापिनी !’
छलफल सुरू भयो । खानपिनसँगै तर्क वितर्क चल्यो । लगभग २ घण्टापछि ठोस निष्कर्ष निस्कियो ।
प्रस्तोता जुरूक्क उठिँन् ।उनले भनिन्, ‘काम सकियो । बिदा हुने बेला भयो ।’
एउटी ब्रतालुले असहमती जनाउँदै भनिन्, ‘यति छिटै घर फर्किनु ?ब्रतको दिन फेरि घरमा पुगेर सबैको हैकम खप्नु ?’
अर्की ब्रतालुले थपिन्, ‘हो नि, घरमा भएकाहरूले भात भान्सा सकुन् अनि आरामले पुगम्ला नि !’
अर्को प्लेट फलफूल र जुस मगाउँदै अर्कीले थपिन् , यस्तै बेलामा त हो नि, हामीले साथीभाइ भेटेर, मन फुकाएर गफ गर्न पाउने ।’
अचम्म मान्दै रीताले सोधिन्, ‘होइन, तिमीहरूले ब्रत बसेर धर्म गरेका कि पाप?’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक