मस्यौंदामा सहमति जुटाउन बसेको चार दलको बैठक निष्कर्षविहीन

काठमाडौ, १२ असार । संविधान मस्यौदा समितिअन्तर्गतको कार्यदलले तयार पारेको एकीकृत मस्यौदाको विषयमा पूर्ण सहमति जुटाउन आज बसेको प्रमुख चार दलको बैठक बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कार्यदलले समितिमा हिजो पेस गरेको मस्यौदाका विषयमा छलफल भएको थियो । छलफलमा केही विवादित विषयमा सहमति नभएपछि फेरि साँझको बैठकमा छलफल गर्ने दलहरुले सहमति गरेका छन् ।

 

बैठकपछि एमालेका उपाध्यक्ष भीमबहादुर रावलले मस्यौदालाई थप परिष्कृत बनाइ कम विवादित बनाउन बैठक केन्द्रित रहे पनि सबै विषयमा सहमति जुटाउन आन्तरिक छलफल गरी पुनः साँझ बैठक बस्ने जानकारी दिनुभयो । बहुलवाद, नागरिकता, समानुपातिक तथा समावेशी प्रतिनिधित्व लगायतका विषयमा दलहरुबीच विवाद जारी रहेको छ । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संवैधानिक समितिले बनाएको मस्यौदा एकलौटी र दलबीच भएको १६ बुँदे सहमतिको मूल मर्म विपरित रहेको बताउनुभयो । मजदुर, किसान, युवाको प्रतिनिधित्व लगायत विषयमा विगतमा भएको सहमति विपरित समितिले मस्यौदा तयार पारेको श्रेष्ठको भनाइ छ ।

तपाइँको प्रतिक्रिया ।