सजिलो जीवन : छायादत्त न्यौपाने बगर (निबन्ध )
कपन अनलाइन
काठमाण्डौ ,फागुन ६।
मानव जातिको खोजी हो सजिलो । सजिलो जीवनलाई सर्वप्रिय भने पनि हुन्छ । स्वाभाव अनुसार मान्छे आफै बनाउँछ जीवनलाई सजिलो र असजिलो पनि । सादा जीवन जिउन सजिलो हुन्छ । यसमा करकाप हुँदैन । यसले अनावश्यक देखासिकी गर्दैन । सजिलो जीवन भड्किलो शैली बाँच्ने रहर पाल्दैन । यो खुरुखुरु हिँड्छ गन्तव्य छाड्दैन । आफूबाट अरु नडसिऊन् सतर्क रहन्छ ।
मान्छे आफै समूहमा रम्ने सामाजिक प्राणी । सरल जीवन बाँच्नेले समूहलाई माया गर्नु, सम्माा नदिनु, सँगसँगै हिँड्नु दायित्व ठान्छ । यसमा लपनछपनको दुर्गन्धले वास पाउँदैन । सजिलो जीवनले झोपडी र महलमा उस्तै सुख देख्छ । यो घर बालेर आगो ताप्नेहरूभन्दा पर फराकिलो मैदानको दुबोमा लडबुडी गर्छ । प्राणी सित सँगसँगै हिँडेर नयाँनयाँ गन्तव्य खोजिरहन्छ । गन्तव्यमा नवीन अर्थ नभेटेसम्म प्रयत्न गरिरहन्छ । नवीन मूल्य पहिचान नै जीवनको अर्थ ठान्छ ।
जीवनहो जसरी बाँच्यो उस्तै हुन्छ ,जे बानी लाग्यो त्यही बस्छ, सादाजीवन भन्छ–सरलतामा सुगन्ध बग्छ, भड्काउमा दुर्गन्ध ढाडिन्छ । यो अन्तर्य बुझेको सादा जीवन श्रमसँग सुखी हुन्छ ।
यसलाई राम्ररी थाहा छ सादगीमा आनन्द लुकेको मर्म । नपत्याएगौतम बुद्ध, अरनिको, जयपृथ्वीबहादुर सिंह, गङ्गालाल, दशरथचन्द, धर्मभक्त, शुक्रराज, महात्मागान्धी, अब्राहम लिङ्कन, नेलसन मन्डेला, नाइटिङ्गेलहरूको जीवन पढेर हेर्नू ल ! भनेर अग्रज जीवन यात्रामा मिसाइदिन्छ नवपुस्ताई ।
सादा जीवन विलासको फेर समातेर हिँड्दैन । यसले उताउता दायाँबायाँ खिचातानी खेप्न रुचाउन्न । जीवन हो सृष्टि सौन्दर्य । सादा जीवन सौन्दर्य सित खेल्छ । मानवीय समतामा सौन्दर्य खुल्छ, सौन्दर्यले सादा जीवनको साख बचाउँछ । जीवन गाम्भीर्य यसैमा अटाउँछ । छिचरो स्वभाव र निम्छरो व्यवहार उधिनेर मिल्काउनु सादाजीवनको लक्ष्य रहन्छ । यसैमा जीवन मगमगाउने हो । यही विश्वास हुर्केको हुन्छ । यसर्थ मान्छे सादा जीवनको पक्षमा वकालत गर्छ ।
परम्परागत संस्कार, संस्कृति, सभ्यतातर्फ फर्केर हेर्ने हो भने हरेक अभिभावक सन्तानलाई सादा जीवनको पाठ घोकाउँछन् तर बिडम्बना कहाँ पुगेर ठोकिन्छ भने सपथखाएर पालनानगरी हाकाहाकी ढाँट्ने ढाँटबहादुर नेता प्रवृत्तिले मलजलपाउँदै आएको बेथिति, विसङ्गति, अनैतिकता मौलाउने फाँट वा अन्त कतै ?
हेरौं न, मान्छे आफैले बनाउने असजिलो, अप्ठ्यारो, अमानवीय जीवनको हाँगाबिँगाको सेपिलो प्रहारले परिवार, समाज, देश अझ भनौं मानवमूल्य भत्काएर सत्पथ विनास गरी प्रदूषण बढाउन बल गरिरहेको छ । यो सुस्त मनस्थितिले सादा जीवन माथि कसरी धाबा बोलिरहेको छ ? भोगविलासमा हराई, रज तम गुणले मात्तिँदै छ । प्राणी हितमुखमा सीमित राख्ने, कर्ममालोभ, स्वार्थ, ईर्ष्या, डाहा, कपट गरेर रामाउने प्रवृत्तिहाबी छ। व्यवहारले छलछामको सहारा लिएको छ । यस्तो भतुवा जीवनशैलीको हिमायती बनेर हिँड्नेले सादा जीवनको मूल्य चिथोरिदिने गरेको छ । यो प्रवृत्ति र सरल जीवनले पछ्याउने कर्मयोग बिचको घर्षणले मानवता छियाछिया पारेर भँडखारो खनिरहेको वर्तमान समयमा सादा जीवनले जोगिन मुस्किल परिरहेको छ तथापि सादाजीवन धैर्य गरी आफ्नै लयमा गतिशील छ । यसले छरेको सुगन्धमा प्राणी मुस्कुराउन पाउँछ, झोपडी उजेलिन्छ, अधर खुल्छन्, प्रकृति निर्बाध लहलहाउँछ ।
जीवन जिउने पद्धतिले गन्तव्य देख्ने त सादा जीवनले नै हो । सादाजीवनको मूल्य र सृष्टिद्वारा निर्देशित मानवीय संवेदना फक्रिने बहुरङ्गी जीवन बगैंचाकोे मूल्य चिनिन्छ । धेरै सदस्यहरूको सद्भाव पाएर सादा जीवन आकाशभरि विचरण गर्न थाल्छ र हातेमालो गर्दै देउरालीतिर उक्लिन्छ ।
सादाजीवन सादा हुन्छ । यसलाई भोक, रोग, अशिक्षा र अभावले कम पिरोल्छ । यसले एक्लै मोटाउने चेष्टा नगर्ने हुँदा आपसी मित्रताको जग हल्लिन पाउँदैन । सद्भाव, सहिष्णु , सदाशय, आत्मीय साइनो सुरक्षित राखेर निरन्तर परिवर्तनको यात्रा हिँडिरहन्छ । यसमा सिङ्गै मानव सुरक्षित रहेर सौर्न्दर्य पान गरिरहन्छ । यसले कसैलाई दुखी बनाउँदैन । सादा जीवन असल विचार, व्यवहार, कर्मयोगमा टेकेर अग्लिन्छ । यसले अरुको काँध चढेर आफ्नो उचाइ नाप्ने भातमारा तुच्छ चिन्तन पाल्दैन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक