विश्व धूमपानरहित दिवस आज विश्वभर मनाईदै

आज मे ३१ अर्थात् विश्व धूमपानरहित दिवस । विश्व स्वास्थ्य संगठनको आह्वानमा यस वर्ष सूर्तीजन्य पदार्थ नियन्त्रणमा सूर्ती उद्योगको हस्तक्षेप रोकौं भन्ने सन्देशका साथ यस वर्ष मनाइँदै छ । विश्वका भन्डै ६० लाखभन्दा बढी व्यक्तिले धूमपानकै कारण ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यही क्रम कायम रहे सन् २०३० सम्म ज्यान गुमाउनेको संख्या प्रतिवर्ष एक करोडभन्दा बढी हुने अनुमान संगठनको छ । विश्वमा धूमपानका कारण दैनिक ११ हजार र प्रत्येक सात मिनेटमा एकजनाको मृत्यु हुने गरेको तथ्यांक छ । नेपालमा धूमपानकै कारण वार्षिक झन्डै १६ हजार नेपालीले ज्यान गुमाउने गरेका छन् । जसमा नौ हजार पुरुष र सात हजार महिला छन् । त्यसैगरी, सूर्तीजन्य पदार्थबाट उत्पन्न हुने रोगबाट प्रत्येक दिन ४९ जना र प्रतिघन्टा दुईजना नेपालीको मृत्यु हुने गरेको तथ्यांक छ । सन् २०११ को नेपाल जनसांखिक सर्वेक्षणले नेपालका ५२ प्रतिशत पुरुष र १३ प्रतिशत महिलाले सूर्तीजन्य पदार्थ सेवन गर्ने गरेको देखाएको छ । झन्डै १२ प्रतिशत नेपाली किशोर किशोरी धूमपान तथा सुर्तीसेवन गर्छन् ।

सुर्तीजन्य पदार्थमा निकोटिन, टार, कार्बन मोनोअक्साइड, लिड, नाइट्रोसोमाइन बेन्जोफाइरिनजस्ता चार हजारभन्दा बढी प्रकारका रासायनिक पदार्थ हुन्छ । यसले क्यासर, मुटुरोग, दमखोकीजस्ता झन्डै २५ भन्दा बढी प्रकारका रोग लागेर मानिसलाई मृत्युको मुखमा पु-याउँछ । धूमपानले फोक्सोको क्यान्सरका साथै मुख र घाँटीको क्यान्सर, स्तन क्यान्सर, पाठेघरमा क्यान्सर, तालु खुइलिने रोग मोतियाबिन्दु, उमेर छँदै छाला चाउरी पर्नेलगायत रोग लाग्नेगर्छ । सुन्ने शक्ति कमजोर हुने, दम बढ्ने, खोकी लाग्ने, हाड कमजोर हुने, मुटुसम्बन्धी रोग, पेटमा अल्सर, नपुंसक हुने, रिँगटा लाग्ने, खान मीठो नलाग्ने, ओठ सुक्नेजस्ता रोग पनि यसबाटै हुन्छ । झन्डै ९० प्रतिशत फोक्सोको क्यान्सर धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट हुने विज्ञहरु बताउँछन् । धूमपानबाट हुने हानिका सम्बन्धमा राज्य, सम्बन्धित निकायले जनचेतना जगाउन सक्ने हो भने यसका न्यूनीकरण गर्न सकिन्छ ।

गत साउनदेखि नेपालमा सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन लागू गर्दै सरकारले सार्वजनिक स्थलमा बसेर चुरोट तथा सूर्ती सेवन गर्न कानूनी रुपमा रोक लगाएपनि कार्यान्वयनमा कडाई हुन सकेको छैन । यदि कसैले सार्वजनिकस्थलमा सेवन गरेको भेटिए, त्यस्तो व्यक्तिलाई पहिलोपटक भए एक सय रुपैयाँ जरिवाना र सार्वजनिक स्थलबाट नै निकाला गर्ने व्यवस्था छ । १८ वर्षभन्दा कम उमेरका व्यक्ति तथा गर्भवती महिलालाई सूर्तीजन्य पदार्थको किनबेच गर्न रोक लगाउँदै सो उमेर तथा अवस्थाका व्यक्ति संलग्न भएका एक सयदेखि दश हजारसम्म जरिवाना हुने उल्लेख छ । यस्तै, सरकारी भवन, स्वास्थ्य संस्था, शिक्षण संस्था, सार्वजनिक सवारी, उद्योग तथा कलकारखाना, होटल र धार्मिक स्थलजस्ता क्षेत्रलाई सार्वजनिक स्थल मानी ती क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा गरिएको छ ।

यसै अवसरमा आज विहानै राजधानीको बसन्तपुरबाट जनचेतनामुलुक ¥याली निकालिएको छ । आजैबाट सूर्तिजन्य पदार्थ त्यागौ, सूर्तिरहित राष्ट्रको परिकल्पनालाई साकार पारौं, सार्वजनिक स्थानमा धुम्रपान नगरौ भन्ने प्लेकार्ड र ब्यानरसहित निकालिएको ¥याली न्यूरोड, इन्द्रचोक, जमल, रत्नपार्क हुदै बसन्तपुरमा पुगेर सकिएको थियो । नेपाल अर्बुद रोग निवारण संस्थाको अगुवाईमा निकालिएको ¥यालीमा विद्यार्थी, नागरिक समाज र विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागि थिए । सूर्ती सेवनका कारण मानव शरीरमा २५ किसिमका रोग लाग्न सक्ने क्यान्सर रोगको प्रमुख कारण पनि सूर्तीजन्य पदार्थ नै हो ।

 

तपाइँको प्रतिक्रिया ।