न्यायाधीश हत्याको घटना विवरण

बिहीबार विहान करिब १० बजेतिर न्यायाधीश रणबहादुर बम कीर्तिपुर ट्याङ्लाफाटस्थित आफ्नो निवासबाट सवारी चालक अष्टमान लामाले हाँकेको बा ८ च ९८५३ नम्बरको गाडीमा सर्वोच्च अदालत जान निस्कनु भएको थियो । उहांका साथमा अगरक्षक महेश गिरी र साथी रामजी गिरी पनि हुनुहुन्थ्यो । चालकसंगै अंग रक्षक गिरी बस्नुभएको थियो भने न्यायाधीश बम आफ्ना साथी रामजीसंगै पछिल्लो सिटमा हुनुहुन्थ्यो । उहां बाटामा ललितपुरको बंगलामुखी दर्शन गरी कार्यालयतर्फ लाग्नुभयो । उहांहरु शंखमुल संयुक्त राष्ट्रसंघ पार्क हुँदै सर्वोच्च अदालततर्फ आउंदै हुनुहुन्थ्यो । गाडी शंखमुल नयां बस्तिको यही ठाउंमा आईपुग्दा नकाब लगाएका केही ब्यक्तिले ओभरटेक गरी रातो पल्सर मोटरसाईकल तेस्र्याएर अवरोध सिर्जना गरे । तत्कालै नकाबधारीहरुले न्यायाधिशका सुरक्षा गार्ड, न्यायधिश बम र साथी रामजी गिरीमाथि अन्धाधुन्ध गोलीको बर्षा गरे । नकावधारीहरु सोही रातो पल्सर मोटरसाईमलमा पुर्व तिरको खोलाको छेउको बाटो हुदै क्षणभरमै फरार भए । गोली लागेर छट्पटाइ रहेका बम र अंगरक्षक गाडीबाट बाहिर निस्की गाडीको पछाडि तिर दौडदै बचाउ बचाउ भन्दै करिब पचास मिटर परसम्म पुग्नुभयो । उहांहरु अस्पताल लैजाउ, एम्बुलेन्स बोलाइ देउ भन्दै छटपटाइ रहेको देखेपछि स्थानिय बासिन्दाहरु घटनास्थल पुगे । तीनजना माथि यति धेरै गोलीको बर्षा भएपनि चालक लामा भने सकुशल अवस्थामै भेटियो ।

घटनालगत्तै घाइते दुईजनालाई ट्यासी र एक जनालाई मोटरसाइकलमा राखेर नर्भिक अस्पताल पु-याईयो ।

अज्ञात नकाबधारी समुहको गोली लागी घाइते न्यायाधिश बमको दुई घण्टा पछि उपचार गर्दागर्दै मुत्यु भयो । गम्भीर घाइते अगरक्षक महेश र रामजी गिरीको नर्भिक अस्पतालमा उपचार जारी छ ।

दर्जनौ सुरक्षा अधिकारीले घटना स्थल घेरा हाली अनुसन्धान शुरु गरे । प्रहरीले गाडी भित्रबाट पाँच राउण्ड गोली र गाडी बाहिरबाट दुई राउण्ड गोली बरामद ग-यो । त्यसै गरी न्यायधिश बमको टोपी र एक थान जुत्ता पनि प्रहरीले घटना स्थलबाट बरामद गरेको छ । प्रत्यक्षदर्शी ३ जना र न्यायधिश बमका सवारी चालकलाई विस्तृत अनुसन्धानको क्रममा साथै लगेको छ ।

नकावधारी समूहले पहिले देखिनै योजनाबद्ध तरिकाले न्यायधीश बमको सवारीलाई पछ्याइरहेको र घटना गराउन अनुकुल स्थानमा पुगेपछि गोली हानेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाइँको प्रतिक्रिया ।