मान्छेको स्तर : लीलाराज दाहाल (लघुकथा)

मान्छेको स्तर : लीलाराज दाहाल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,मंसिर १७ ।

रामबहादुरको हैसियत सम्भ्रान्तको थियो । उ सानातिना गरीव मान्छेहरुलाई गन्दैनथ्यो । काठमाडौंको मुख्य सडकमा रहेको उसको साततले घरले उसको रवाफको आगोमा घीउ थपिरहेको थियो । उ आफू निकै ठूलो मान्छे भएको भ्रमको आसनमा बसिरहेको थियो । वल्लोपल्लो घरमा विहावारी, मरन पर्दा समेत उ जादैनथ्यो । यस्तो सोचेर कि त्यहाँ जान उसको हैसियत मिल्दैन । उ टोलमा आफूलाई एक्लो धनिको रुपमा प्रस्तुत गरेर वाँिचरहेको थियो ।
एकदिन अकस्मात् ठूलो भूकम्प आयो । भूकम्पको धक्काले उस्को घर गर्लामगुर्लुम ढल्यो । हेर्दाहेर्दै उस्लाई इज्जतको सोफामा बसाईरहेको घर माटोमै मिल्न पुग्यो । अव उ निमेष भरमै करोडपतिबाट रोडपतिको अवस्थामा आइपुग्यो । परापूर्वदेखि सानो छाप्रोमा बसिरहेका श्यामकृष्णको टिनको छाप्रो छेउमा उस्को पाल टाँगियो । घर भत्किएको भग्नावशेषमा रहेको सिमेन्ट र इँटको थुप्रोमा पाल टाँग्न पनि मिलेन । घरबाट प्राप्त हुने बहालले उस्को इज्जतको जुँगा ठडिएका थिए । अब ती पनि लत्रिए । रामबहादुरको पाल किन्ने सम्मको हैसियत बाँकी रहेन । घरमा भएका वैंकका चेक, नगद, गरगहना आदि घरको खण्डहरमा पुरिएका थिए । सरकारले वितरण गरेको पाल र राहत रकमले उस्ले घर व्यवहारको जाँतो घुमाउन थालेको थियो । उ ओठमा मौनताको ताल्चा झुण्ड्याएर आफ्नो भत्किएको घरतिर हेर्न थाल्यो । उसको अनुहारमा पश्चातापको लहर सल्वलाइरहेको थियो । उस्का आँखाबाट झरेको आँशुलाई श्यामकृष्णको ओठको मुस्कानले जिस्क्याइरहेको थियो । पटकपटक उस्ले आफूलाई माग्ने भनेको श्यामकृष्णले बिर्सेका थिएनन् । एकदिन ख्यालख्यालमा श्यामकृष्णले उसलाई हेरेर भने, ‘अब भने हाम्रो स्तर मिल्यो है !’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।