नामुद ज्योतिषी : शारदा दाहाल (भण्डारी)

नामुद ज्योतिषी : शारदा दाहाल (भण्डारी)

कपन अनलाइन

काठमाण्डौ ,मंसिर १७ ।

‘यो सारा तनावबाट कसरी बाहिर आउने बुढा ? यस्तै हो भने डिप्रेसनको शिकार बनिने भो ।’
‘खै ! कति मन बुझाऊँ भन्छु, मनले मान्दैन ।’
‘यस्तो पाराले कतिन्जेल बाँच्नु ? बरु त्यो पारि बर्खे डाँडामा नामुद ज्योतिष छन् रे । दुनियाँको भविष्य हेर्ने मात्रै होइन । उनी त खगोल शास्त्रकै विज्ञ रे । आकाशका ताराहरुको समेत अध्ययन गर्दै हिंडिरहेका छन् रे ! त्यहाँ जाऊँ न एकचोटी ।’
‘उसो भए जाऊँ । कुन ग्रह दशाले यस्तो भएको रहेछ हेराऊँ न त । वर्षौं अघिदेखिको यो तनावबाट मुक्ति पाइन्छ कि? यो चौपट्ट व्यवहार पनि मिल्छ कि ?’
श्रीमान् श्रीमतीको सल्लाहले तुरुन्तै नामुद ज्योतिषी भेट्न भनेर हिंडे । उनको घरको लोकेसन् नजिक पुग्दा पानीको विशाल कुवाबाट ‘बचाऊ ! बचाऊ !’ भनिरहेको आवाज सुनियो ।
‘ए बुढा ! हेर्नुपर्छ । को अप्ठ्यारोमा परिरहेको छ उद्वार गर्नुपर्छ ।’
‘हुन्छ ।’ भन्दै दुबै कुवामा पुग्छन् त एक भद्र मानिस गुहार मागिरहेका हुन्छन् । दुबै जना मिलेर कुवा बाहिर निकालेर ‘तपाईं को हो र यो सब कसरी भयो ?’ भनी सोध्छन् ।
‘म उही नामुद ज्योतिषी ।आकाशका ताराहरुको अध्ययन गर्ने क्रममा आकस्मिक कुवामा खसेर यो हविगत भएको ।’ यो सुन्नासाथ उनीहरुले मनमनै सोचे । ‘दुनियाँको ग्रह दशा हेरेर शान्ति गरिदिने ज्योतिषले आफ्नो ग्रह चाहिँ हेर्न भ्याएनछन् विचरा !’
ज्योतिष पुनः बोल्दै थिए ‘मलाई तपाईंहरुले बचाउनु भयो । अब तपाईंहरुको सेवा गर्ने मौका दिनुहोस् म ग्रह दशा शान्ति गरिदिन्छु ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।