निजी क्षेत्रका उन्नाइस जलविद्युत् आयोजनामा क्षति

निजी क्षेत्रका उन्नाइस जलविद्युत् आयोजनामा क्षति

काठमाडौँ, २९ जेठ । ‘गोरखा भूकम्प’का कारण निजी क्षेत्रले निर्माण गरेका १९ आयोजनामा क्षति पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणले रु ११ अर्ब बराबरको क्षति पुगेको तथ्याङ्क सार्वजनिक गरिरहेको बेला स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले भूकम्पले सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनाको रु दुई अर्ब ३० करोड क्षति भएको अनुमान गरेको छ । क्षति भएका आयोजनाको पुनःनिर्माणका लागि मात्रै रु दुई अर्ब पचास करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

bijuli
इपानका अध्यक्ष खड्गबहादुर विष्टले भूकम्पले माथिल्लो भोटेकोसी, इन्द्रावती तेस्रो, सुनकोसी साना जलविद्युत् आयोजना, बराम्ची खोला, माथिल्लो हाँडीखोला, सिउरीखोला, सिप्रिङ्खोला, मध्य चाकु, तल्लो चाकु, चाकुखोला, चर्नामती, आँखुखोला, मैलुङ खोला, भैरवकुण्ड, जिरीखोला, साँधीखोला र छोटेखोला आयोजनामा क्षति पुगेको बताउनुभयो ।

उहाँले क्षति भएकामध्ये १४ आयोजना पूर्ण रुपमा बन्द भई ८० मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकिएको उल्लेख गर्दै भूकम्पबाट क्षति भएका आयोजनालाई पूर्ववत् अवस्थामा सञ्चालन गर्नका लागि आवश्यक वातावरण बनाइदिन सरकारसँग माग गर्नुभयो । इपानका पूर्वअध्यक्ष डा सुवर्णदास श्रेष्ठले अन्तर्राष्ट्रिय प्रचलनअनुसार विपद्पछिको वातावरण सहज बनाउनका लागि हरेक काम द्रुतमार्गबाट अगाडि बढाइने प्रचलन रहेका कारण सरकारले सो अभ्यास अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।

क्षतिग्रस्त आयोजनालाई चाँडो पुनः निर्माण गर्नका लागि ठूलो मात्रामा आवश्यक रकमको व्यवस्थापन गर्नुपर्ने भएकाले बिमा समितिलाई ती आयोजनाको क्षतिको आकलन गर्न तत्काल निरीक्षक पठाइदिन इपानले आग्रह गरेको छ । यस्तै निर्माणाधीन आयोजना र राष्ट्रिय प्रसारण लाइनमा नजोडिएसम्म ती आयोजनाको उत्पादन अनुमतिपत्र, आयोजना विकास सम्झौता तथा विद्युत् व्यापार सम्झौताको अवधि थप गर्न आग्रह गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।