मनकामना मन्दिरमा शनिबारदेखि पूजा हुने

मनकामना मन्दिरमा शनिबारदेखि पूजा हुने

गोरखाबजार, २९ जेठ । भूकम्पले १२ फिट दक्षिण–पश्चिम दिशातर्फ ढल्केपछि पूजाआजा बन्द भएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरमा शनिबारदेखि नियमित पूजा आरम्भ गरिने भएको छ ।

Manakamana

मन्दिर जीर्णोद्धारका लागि भत्काउन सुरु गरिएकाले मन्दिर बाहिरै पूजा सुरु गर्न लागिएको हो । यसअघि भक्तजनको सुरक्षालाई ध्यान दिएर मनकामना मन्दिरमा पूजा रोकिएको थियो । परकम्प जाने क्रमः पातलिएसँगै पूजाअर्चनाका लागि भक्तजनलाई खुल्ला गरिएको मन्दिरका मुख्य पुजारी इन्सानबहादुर थापाले जानकारी दिनुभयो ।

मन्दिर परिसरमा देवी थापना गरेर पूजाअर्चनाको व्यवस्था मिलाइने छ । मन्दिरभित्र रहेको देवीको प्रतिमूर्ति बाहिर लगेर चौतारामा स्थापना गरी पूजाअर्चना सुरु गरिने छ ।
“भक्तजनको आग्रहअनुसार मन्दिरबाहिरै पूजा गर्ने व्यवस्था मिलाएका हौँ”, पुजारी थापाले भन्नुभयो, “भोलि(शनिबार)देखि नियमित पूजा आरम्भ गरिन्छ ।” मन्दिर परिसरमै बोकाको बलि दिने व्यवस्था पनि मिलाइने छ । मनकामना मन्दिर जीर्णोद्धार समिति, मनकामना मन्दिर क्षेत्र विकास समिति, मनकामना गाविसमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिलगायतको भेलाले मन्दिर बाहिरै पूजा सुरु गर्ने सम्पूर्ण व्यवस्थापन मिलाएको हुन् ।

भूकम्पले मन्दिरमा क्षति पु¥याएपछि जगैदेखि भत्काएर पुनःनिर्माण सुरु गरिएको छ । रु १४ करोड लगानी गरेर आउँदो तीन वर्षभित्र पहिलेको जस्तै मन्दिर तयार गरिने जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिनुभयो । मन्दिर भत्काउने काम धमाधम सुरु भएको छ । भक्तपुरदेखि आएका कामदारले मन्दिर भत्काउने काम गरेका छन् ।

पुरातत्व विभागको प्रत्यक्ष निगरानीमा मन्दिर भत्काइएको हो । मन्दिर भत्काउनुअघि वैदिक विधिअनुसार क्षमापूजा गरिसकिएको छ । साथै केही दिनअघि मन्दिरको गजुरसमेत झिकिएको छ । मनकामना मन्दिरमा दिनहुँ पाँच हजारदेखि सात हजार भक्तजनले पूजाअर्चना गर्छन् । मनकामना मन्दिर केवलकारमार्फत र विभिन्न ठाउँ भएर सडक मार्गमार्फत पुग्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया ।