बीस रुपैयाँको नोट : माधव पोखरेल गोज्याङ्ग्रे (संस्मरण )
कपन अनलाइन
काठमाण्डौ ,असोज २९ ।
मान्छेलाई आफ्नो काम कसरी सफल पार्ने भन्ने कुरामा हरेक उपायको खोजी गर्दछ । उपायको खोजीका क्रममा उसले आफ्नो दिमागले भ्याएसम्मका काम गर्छ । आफन्त गुहार्छ । चिनेजानेका साथीभाइहरूसँग अनुरोध गर्छ । नयाँ साथी बनाएर आफ्नो काम फत्ते गर्ने प्रयास गर्छ । अरु केही उपाय नलागेपछि पैसा दिएर भए पनि काम सक्नेतिर लाग्छ । यो हामी मानवको नियती जस्तै भएको छ । सरकारी अड्डामा काम गर्दा धेरैले धेरै प्रकारका नियती भोग्नु पर्दछ ।
आ आफ्नो कामको प्रकृति अनुसार समय खर्चिनु पर्ने हुन्छ । कतिपयलाई छिटो काम सकेर घर फर्कन हतार हुन्छ । वा भनौँ प्रायः सबैलाई अड्डामा जाने बित्तिकै काम भैदिए हुन्थ्यो भन्ने हुन्छ । तर आफूले सोचे जस्तो कहिल्यै हुँदैन । छिटो हुनु पर्ने काम ढिलो पनि हुन सक्छ । ढिलो हुने काम छिटो पनि हुन सक्छ । काम सकिएपछि कतिपयले लहै सर चिया खाजा खानु होला भनेर आफ्नो मन खुशीले गोजीबाट दाम निकालेर दिन्छन पनि । त्यो ग्राहकको मनको कुरा हो । तर काम गरिदिए वापत भने खाजा चिया खान माग्नु चाहिँ कुनै पनि दृष्टिले उचित हो जस्तो लाग्दैन।
म पहिले हुलाक सेवामा २१ वर्ष काम गरेर २०६४ सालको मंसिरमा सरुवा भएर मालपोत कार्यालय सर्लाही मलङ्वा गएको थिए । मालपोतको काम मेरालागि नयाँ थियो । मुलुकमा भर्खर गणतन्त्र आएको थियो । माओवादी शान्ति प्रक्रियामा भर्खर आएको थियो । मालपोतको काम खास गरी जग्गा प्रशासन सम्बन्धी भएकोले त्यो बुझ्न नै मलाई समय लागेको थियो । आफूले पाएको जिम्मेवारी मैले आफूभन्दा पहिले मालपोतमा काम गरिरहेका साथीहरूसँग सोधपुछ सरसल्लाह गरेर बुझेर मात्र गर्ने गरेको थिए । जसले गर्दा मलाई काममा सहजता भयो । साथीहरूले पनि मलाई सहयोग गरिरहनु भएको थियो ।
मालपोतको काम प्रायः लेखापढी व्यवसायी मार्फत हुन्थ्यो । कतिपय सेवाग्राहीहरू भने सिधै फाँटमा आएर आफ्नो काम गरिदिन निवेदन लिएर आउँथे । कागज हेरेर तथ्य प्रमाणका आधारमा कागज मिलेको रहेछ भने तत्कालै काम गरेर पठाइन्थ्यो । कागज नमिलेकोमा भने सेवाग्राहीलाई यो कारणले काम हुँदैन र कागज मिलाएर ल्याउन अनुरोध गरिन्थ्यो । लेखापढी व्यवसायीको काममा चित्त बुझेन भने सेवाग्राहीहरू सिधै फाँटमा आएर निवेदन दिन्थे र काम सकेर जान्थे । काम सकेपछि कतिपयले आफू खुशीले चिया खाजा खानु भनेर केही रकम दिन्थे । तराईका जिल्लाका अड्डामा काम गर्न आउने सेवाग्राहीमा एउटा नराम्रो प्रवृति भनौँ वा सोच के थियो भने काम सकेपछि कर्मचारीलाई चिया खाजा खान पैसा दियो भने त्यो काम पक्का हुने र पुनः त्यही कामका लागि पछि अड्डा धाउनु नपर्ने विश्वास थियो । सेवाग्राहीले दिएको रकम लिन नमान्दा पनि जवरजस्ती गोजीमा हालिदिने चलन पनि थियो ।
तराईका जिल्लामा त्यतिबेला माओवादी बाहेकका भूमिगत रूपमा धेरै राजनीतिक संगठनहरू सक्रिय थिए । अड्डामा ति संगठनका प्रतिनिधिहरूको गोप्य उपस्थिति हुन्थ्यो । कसले कहाँ कसरी काम गरिरहेको छ वा काम गर्दा पैसा मागेको छ छैन ? काममा ढिला सुस्ती भएको छ छैन ? सबै कुरा विचार गरिरहेका हुन्थे । त्यतिमात्र होइन बेला बेलामा चन्दा मागेर हैरान बनाउँथे । कतिपय अड्डामा काम गर्ने मधेशी समुदायका कर्मचारी नै भूमिगत संगठनसँग आवद्ध भएर गोप्य रूपले अर्को व्यक्ति मार्फत अड्डासँग चन्दा असुली गर्ने गर्दथे । भनौँ आफूले भनेको नमान्ने वा आफ्नो कुरा नसुन्ने अड्डाको हाकिम वा अन्य कर्मचारीसँग अन्य व्यक्ति मार्फत मोटो रकम माग्ने नदिए अपहरण गर्ने, ज्यान मार्ने धम्की दिने लगायतका काम पनि हुन्थ्यो ।
खास गरी पहाडे समुदायका हाकिम भएको अड्डामा सोही अड्डाका मधेशी मुलका कर्मचारीले हाकिमलाई धम्क्याएर मोटो रकम असुली गर्ने काम हुन्थ्यो । आफ्नै अड्डाका कर्मचारीका कारण कतिपय हाकिमहरू काम गर्न नसकेर सरुवा गराएर अन्यत्र जान्थे । मधेशी कर्मचारीहरू भने सेवाग्राहीको काम गर्दा आलटाल गर्ने कागज मिलेको भए पनि अनेक बहाना गरेर पैसा तान्नकालागि ढिलासुस्ती गर्ने गर्दथे । तर यो संस्कार अझै पनि तराईका जिल्लामा छ ।
तराईका जिल्लामा सर्लाही, रौटहट, बारा , धनुषा, सिराहा, सप्तरी , पर्सा र महोतरीमा एकताका पहाडेमुलका कर्मचारीहरू जानै नमान्ने अवस्था पनि आएको थियो । जसको कारण थियो चन्दा असुली अपहरण र जयान मार्ने धम्की नै प्रमुख कारण थियो । यस बाहेक अभद्र व्यवहार गर्ने गाली बेइज्जती लगायतका काम पनि हुन्थे ।
सर्लाही, महोतरी लगायतका भारतीय सीमासँग सदरमुकाम जोडिएका जिल्लाका पहाडे मुलका कर्मचारीलाई भूमिगत संगठनका नाममा भारतीय भूमिमा गएर फोन गरेर चन्दा माग्ने ज्यान मार्ने धम्की दिने अपहरण गर्ने जस्ता कुरा गरेर असुलीकालागि दवाव दिन्थे । यस्तो भयावह अवस्थाका वावजुद पनि कतिपय कर्मचारीहरू तराईका जिल्लामा जोगिएर बसेका थिए ।
सर्लाही मालपोतमा काम गर्ने क्रममा एकदिन तत्कालिन अत्रौली गाउँ विकास समितिका एक ग्राहक आएर मलाई भने ‘सर मेरो जरुरी काम छ अलि चाँडै घर पुग्नु छ । मेरो काम चाँडो सकिदिनु होला ।’ उनले पहिले आफ्नो परिचय दिँदै म माओवादी कार्यकर्ता हुँ । पार्टीको कामले गर्दा भनेको बेलामा आफ्नो घरको काम गर्न पनि भ्याउँदिन । आज समय मिलाएर आएको भने । निवेदन तोक लाएर दर्ता गरेर ल्याएकोले मैले आवश्यक कागज हेरे । कागज पुरा
थियो । खासमा उनको काम भनेको जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि लिनु थियो । मैले उनको श्रेष्ता हेरे । दुई कित्ता जग्गा तर थोरै थियो । यसो हेर्दा ति सेवाग्राही निम्न आए भएको सोझो र इमानी जस्तो देखिन्थे । मैले उनको नाम बिर्सिए तर उनी तामाङ जातिको करीब २५ वर्षका थिए । मिठासपूर्ण बोली भएका उनले आफ्नो व्यवहारिक दुखेसो पोख्दै आफूले माओवादी जनयुद्धमा लागेर धेरै पाठ सिकेको र दुःख पनि पाएको मसँगको गफमा बताएका थिए ।
उनको कागज हेरेपछि मैले प्रक्रिया पुरा गरेर जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि बनाएर प्रमाणित गरेर दिए । उनी अत्यन्त खुशी भए र मलाई सरले समय मै काम सकिदिनु भयो भन्दै एउटा खाम हातमा दिए । मैले केही गर्नु पर्दैन तपाईको काम सकियो जानुस् भने तर उनले मेरा अगाडि खाम छाडेर
गए । मैले केही बेरपछि कोही नभएको समयमा सो खाम खोलेर हेरे त्यो भित्र २० रुपैयाँको नयाँ नोट थियो । खामभित्र ‘पृथ्वीनारायण शाहले भन्या घुस लिनु र दिनु दुबै अपराध हो’ भन्ने लेखिएको थियो । म डराए, छक्क परे र यो अरु साथीहरूलाई पनि देखाएँ । साथीहरू पनि छक्क परे । त्यो बीस रुपैयाँको नयाँ नोट मैले खाम सहित धैरै दिनसम्म जस्ताको त्यस्तै राखेको थिए । पछि त्यो कता हरायो वा के भयो मैले खोजी गर्दा भेटिन ।
यो कुरा म अहिले पनि सम्झन्छु र त्यो भाइको अनुहार आँखा वरपर घुमिरहन्छ । अर्को कुरा त्यो माओवादी जनयुद्धमा लागेको भाइले मलाई सर काम गरेपछि यसो चिया खाजा खान दिनु पर्छ भन्ने चलन छ र पैसा दिएर काम गराएपछि काम पक्का हुन्छ भन्ने विश्वास हाम्रो गाउँघरतिर भएकोले मैले पनि चिया खर्च दिएको हुँ भने । म उनको कुरा सुनेर चुपचाप लागि रहे केही जवाफ दिने आँट
आएन । उनी आफैँले खाममा हालेर सम्मान साथ मलाई बीस रुपैयाँको नोट दिएका थिए । पछि केही हुन्छ कि भन्ने डर मनमा भैरह्यो तर त्यो बीस रुपैयाँको नोट सहजै पच्यो । जुन त्यो भाइले आफ्नो मनखुशी भएर श्रद्धा पूर्वक दिएको थियो । भनौँ त्यो घुस नभएर श्रद्धाको कोसेली थियो । तर खामभित्र लेखिएको सन्देशले भने अझै पनि मुटुमा ढ्याङ्ग्रो ठोकिरहेको छ । त्यो कुरा सम्झदा अझै पनि म झसङ हुन्छु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक