सार्वजनिक शौचालय प्रयोग गरेवापत पैसा दिने

सार्वजनिक शौचालय प्रयोग गरेवापत पैसा दिने

अहमदावाद (भारत) २६ जेठ । भारतको पश्चिमी नगर अहमदावाद महानगरपालिका क्षेत्रमा हाल धेरै व्यक्तिले सार्वजनिक स्थलमा दिसापिसाप गरिरहेकोमा यस्तो अवस्था अन्त्य गर्न यस नगर प्रशासनले यहाँका वासिन्दालाई सार्वजनिक शौचालयमा मलमूत्र परित्याग गरेवापत पैसा दिने योजना तयार गरिरहेको छ ।

useless-toilet

अहमदावाद महानरपालिकाले आफ्ना वासिन्दालाई सार्वजनिक खुला क्षेत्र तथा सार्वजनिक पर्खालमा दिसापिसाप गर्न रोकी उसले निर्माण गरेका ३०० सार्वजनिक शौचालयतर्फ आकर्षण गर्न त्यहाँ प्रवेश गरेको प्रतिपटकका लागि एक रूपैयाँ दिने निर्णय गरेको छ । यहाँका सार्वजनिक पर्खालमा प्रायः पिसापको दुर्गन्ध आउने गरेको बताइन्छ ।

यस महानगरपालिकाका स्वास्थ्य अधिकारी भाविक जोशीले अहमदावादका ६७ सार्वजनिक शौचालयमा यस्तो सुविधा प्रदान गरिने बताउनुभयो । अहमदावाद पश्चिमी राज्य गुजरातको प्रमुख नगर हो ।

जोशीले यो परियोजना सफल भएमा यसलाई अहमदावादका ३०० शौचालयमा कायान्वयन गरिने बताउनुभयो ।

गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफाइ अभियानको घोषणा गर्नुभएको थियो र जनतालाई शौचालयतर्फ आकर्षण गर्ने यो पछिल्लो प्रयास हो ।

भारतमा धेरै व्यक्ति शौचालयलाई अस्वस्थकर मान्छन् र खुलास्थानमा दिसापिसाप गर्न मनपराउँछन् । उनीहरू घरभन्दा पर गएर दिसापिसाप गर्दा घर बढी सफा रहन्छ भन्ने धारणा राख्छन् ।

अहमदावाद महानगरपालिकाको स्थायी समितिका अध्यक्ष प्रविण पटेलले यस प्रकारले पटकपटक सार्वजनिक रूपमा दिसापिसाप गर्ने व्यक्तिलाई पहिचान गरी पैसा दिई शौचालय प्रयोग गर्न अभिप्रेरित गरिने बताउनुभयो ।

पटेलले महानरपालिकामा सार्वजनिक शौचालय हुँदाहँदै सार्वजनिकस्थलमा दिसापिसाप गर्ने व्यक्तिाई यस्तो कार्य गर्न नदिने यस परियोजनाको उद्देश्य भएको बताउनुभयो ।

भारत सरकारले गत वर्ष जनताले शौचालयलाई सफाइको एक भागको रूपमा लिएको वा उनीहरूले वास्तवमै यसलाई प्रयोग गरेको निरीक्षण गर्ने घोषणा गरेको थियो । यसका लागि सरकारले घरघरमा सरसफाइ निरीक्षक पठाउने भएको थियो ।

युनिसेफले भारतका ५९ करोड ४० लाख जनता अर्थात कूल जनसङ्ख्याको आधा भागले सार्वजनिक स्थानमा दिसापिसाप गर्ने गरेको अनुमान गरेको छ । यहाँका धुलाम्य गरिब ग्रामीण क्षेत्रमा स्थिति अझै नराम्रो भएको अनुमान गरिएको छ ।

भारतमा शौचालयको अभाव तथा सफाइका अन्य समस्याका कारण ठूलो समस्या रहेको र यसका कारण त्यहाँ झाडाबान्ता फैलने गरेको बताइएको छ । रासस/एएफपी

तपाइँको प्रतिक्रिया ।