लौरो : रुद्र ज्ञवाली (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २५ ।
‘दिनभरि के गरेर बस्छस् यार । आइज मिलेर एउटा काम गरौं । दुइचार पैसापनि हुन्छ । समयपनि बित्छ ।’
उसले प्रस्ताव राख्यो । ‘के कामगर्न सकिएला र अब बुढेस– कालमा ।’ मैले भनें । ‘विदेशतिर हाम्रो उमेरमा बल्ल ब्या गर्छन रे ! बुढेसकाल भन्छ । हेर, यो काम गरियो भने मालामाल भइन्छ के मालामाल !’ उसले भन्यो ।
‘कस्तोे कामहो र त्यस्तो ?’ मैले भनें ।
‘देशमा फेरि चुनाव हुँदैछ । गत चुनाँमा लौरोले तहल्का मच्चायो । यसपटक त झन् लौरोको उत्पातै हुनेवाला छ । बजारमा लौरोको माग बढ्ने छ ।
व्यापारीहरू लौरो खोज्नगाउँ पसिसकेका छन् । अब टन्न लौरा काट्ने, सप्लाई गर्ने र झ्याम्म, गाँठ कमाउने । अनि बुढेसकालमा ऐस गर्ने । कि कसो ?’ उसले कामको योजना बतायो ।
‘भनेपछि लौरोको व्यापार गर्ने ?’ मैले भनें । ‘अनि के त ।मौकामा चौका हान्नजान्नु पर्छ । अब आउने चुनावमा जित्ने भनेकै लौराले हो ?आउने चुनावमा स्वतन्त्र उठ्ने कतिले त लौरो चुनाव चिन्ह परोस् भनेर देबी देउता भाकी पनि सके रे ! । फेरि लौरो जता पनि काम लाग्ने के । विपक्षीको ढाड सेक्नदेखि टाउको रङाउन । गाडी र घरका शिशा सुरक्षित फुटाल्न । अनि बुढेशकालमा कुकुर धपाउन । हो कि हैन भन त ?
‘हुन त हो ।’ मैले भनें ।
‘तँमान् या नमान्, आउने चुनाव लौरोकै हो । कतिपय ठूला व्यापारीले त सामानको खरिदमा लौरो उपहार नै राखिसके रे । मेरो कुरो बुझिस् त ?’ उसले भन्यो । मैले सहमतिमा टाउको हल्लाएँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक