कहाँ छन् देवता खुसी ? – त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार २५ ।
मान सम्मानका लागि गलामा चम्किने थिएँ
श्रद्धाञ्जली दिने बेला लासमा सजिने थिएँ
उद्यानमा सधैँ बस्थेँ आस्थाका भावना भरी
घाम छाया सँगै खेल्ने म थिएँ दिव्य मञ्जरी ।
नानी हाँसे भनिदिन्छन् कोपिला फूलकी यिनी
ज्ञानी भेटे भनिदिन्छन् फूलकै दिलकी पनि
भेटे उमेरका भन्छन् फक्रियो बैँश बेसरी
कवितामा फुलेकै छन् अनेकौँ गुनकेसरी।
देख्दथेँ सपना के के जाने हो म अझै कहाँ?
हर्षमा चम्किने हुँवा आँशुका दह माझमा?
मान सज्जनको हो वा नक्कली काम चोरको ?
उपयोग कहाँ होला मेरो हल्हल बैँशको ?
भन्थेँत्यस्तो ममा के छ ?प्रशंसा खात लाग्दछन्
राम्रो हुनु हुँदैहुन्न? शत्रुका हात लाग्दछन्
लाग्दैथ्यो उनिँनू भन्दा अत्महत्या गरी मरूँ
चित्तदुख्थ्यो सधैँ हुन्थ्यो, बोटबाटै झरूँझरूँ।
माटोमा दुःखमा खुल्दै जन्माउँने कता थिए?
गोडमेल गरी पाल्ने हुर्काउँने कताथिए?
भयो दुर्भाग्यनै मेरो दिव्य सुन्दरता अहो !
लुटिएँ टिपिएँ चोखो जिन्दगानी छचल्कियो ।
मान्छेले किन हुर्काए, थपक्क टिप्नु नै भए
किन सम्मानले हेर्छन् पैसामा बिक्नुनै भए
आमा बाबा भनेँ लागे हत्यारा झैँ उनै पछि
चुँढेर फूलको थुँगा, कहाँ छन् देवताखुसी?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक