चार मुक्तक : विजयध्वज थापा

चार मुक्तक : विजयध्वज थापा

कपन अनलाइन

काठमाण्डौ ,फागुन ९।

राम्रो नराम्रो थाहा हुन्न राम्रोसँग नबुझीकन
प्रेम पनि कहाँ हुन्छ अलिकति नै नझुकीकन
सफलता सधैँ मिल्दैन सबै नै शाश्वत हुँदैन,
कसरी पाइन्छ र मोती पानीभित्र नडुबीकन ।

बलियै भए पनि काम छैन लाछीको पाखुरी
जति झर्छ उतिपटक चढि छोड्छ त्यो माकुरी
आफ्नो अस्तित्व जोगाउन डट्नुपर्छ सधैँभर,
फुटेपछि त कहाँ बज्छ र ! बाँसको त्यो बाँसुरी ।

भित्रबाहिर जताबाट पनि कुसंस्कार सिक्ने भए
असल राम्रा काम गर्न धेरैले नै हात झिक्ने भए
कस्तो विकृति बढेको यहाँ कहाँ पुगेर रोकिने हो,
यहाँ त हरक्षेत्रमा हेर्नुहोस् त पैसामा बिक्ने भए ।

हिजोआज जताततै हत्या र हिंसा नै चलेको छ
देश फेरि कता जाला अशान्तिको आगो बलेको छ
वर्षेौ बित्यो अझ कतिसम्म कुर्नुपर्ने नेपालीले,
सत्य, अहिंसा, नैतिकता यहाँ सबै नै ढलेको छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।