भूकम्पपछि रित्तिँदै छन् राजधानीका तारे होटल

काठमाडौँ, १७ जेठ । विनाशकारी भूकम्पबाट पर्यटन क्षेत्रमा भएको भौतिक क्षतिपछि पर्यटकको चहलपहल घटेर राजधानीका अधिकांश ठूला तारे होटल रित्तिन थालेका छन् ।

पर्यटकका भरमा चल्दै आएका कतिपय तारे होटललाई भूकम्पपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा आएको कमीले कर्मचारीलाई तलब खुवाउनसमेत कठिनाइ भएको छ ।

Five-Star-Hotel-11

भूकम्प र त्यसपछिका पराकम्पले पर्यटक आगमनमा कमी आएको छ । तारे होटलमा हुने कार्यक्रम, गोष्ठी, तालिम ठप्प छन् । वैशाख र जेठमा हुने विवाह, व्रतबन्धका भोज पनि बन्द हुँदा यस्ता होटल थप मारमा परेका छन् ।

राजधानीको ग्रान्ड होटलका आवासीय प्रबन्धक अमीर प्रधानाङ्ग भूकम्पपछि होटलहरुमा पर्यटकको चहलपहल शून्यसरह भएको बताउनुहुन्छ । “भूकम्पलगत्तै उद्धार र राहतका लागि आएका केही अन्तर्राष्ट्रिय टोलीका कारण चहलपहल देखिए पनि क्रमशः उनीहरु फर्किंदै गएपछि होटल सुनसान बन्दै गएका छन्” – उहाँले भन्नुभयो ।

वैशाख १२ गते गएको भूकम्प र त्यसपछि गएका शक्तिशाली पराकम्पले नेपालको पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको छ । पर्वतारोहण, पदयात्रा, जलयात्रालगायतका साहसिक पर्यटनका कारण विश्वमै प्रसिद्ध नेपालका पुरातात्विक, सांस्कृतिक तथा प्राकृतिक सुन्दरता पर्यटकीय आकर्षणका थप विषय हुन् । सन् २०१४ मा हवाई तथा स्थलमार्गबाट करिब आठ लाख पर्यटक नेपाल भित्रिएका थिए ।

अहिलेको मौसममा भारत र चीनबाट बढी पर्यटक आउँछन् । तर भूकम्पको त्रासले पर्यटक ह्वात्तै घटेका छन् । अधिकांश होटलका बुकिङ रद्द गरिएका छन् । बुकिङ भइसकेका मध्ये पनि ६० देखि ७० प्रतिशत रद्ध भएका होटलले जनाएका छन् ।

राजधानीका पाँचतारे होटलको कारोबारमा ७० प्रतिशत कमी आएको पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमको भनाइ छ । “भूकम्पपछि क्षतिग्रस्त बनेका संरचनाको पुनःनिर्माण तथा पर्यटकीय क्षेत्रहरूको मर्मत र सुधार गरी पर्यटनलाई सामान्य अवस्थामा लैजान विभिन्न कार्ययोजना अघि बढाइसकिएको छ”– महानिर्देशक गौतमले भन्नुभयो ।

तर काठमाडौँ र नगरकोटका होटलका तुलनामा धुलिखेलका रिसोर्टमा भने विभिन्न कार्यक्रम, गोष्ठी तथा तालिम गर्नेदेखि धुम्न आएका पर्यटकले भरिभराउ छन् । भूकम्प प्रभावित जिल्लामा राहत वितरण र अध्ययन गर्न आउने संस्थाका प्रतिनिधि तथा तय भइसकेका कार्यक्रम, तालिम र गोष्ठीले गर्दा धुलिखेलका ठूला रिसोर्ट भरिभराउ रहेको मिराबेल रिसोर्टका प्रबन्ध निर्देशक भोला थापा बताउनुहुन्छ । धुलिखेलमा साना ठूला गरी ६६ रिसोर्ट छन् ।

“काठमाडाँै र नगरकोटका होटलका तुलनामा यहाँका रिसोर्टमा भूकम्पले कम क्षति भएका कारण सुरक्षित ठानेर यहाँ बस्न आउने पर्यटकमा खासै कमी आएको छैन” – प्रबन्ध निर्देशक थापा भन्नुहुन्छ ।

काठमाडौँपछिको प्रसिद्ध पर्यटकीय स्थल पोखरा, लुम्बिनी, चितवनजस्ता क्षेत्रमा भने भूकम्पले कुनै असर गरेको छैन । पोखराका पर्यटन व्यवसायीले पर्यटक कम भएपछि पर्यटक तान्न खान, बस्न र घुमघाममा छुटको योजना अघि सारेका छन् । लाङटाङ र सगरमाथा क्षेत्रमा भूकम्पले क्षति पु¥याएको छ । तर त्यसबाहेकका प्रमुख पर्यटकीय क्षेत्रमा भने खासै क्षति पुगेको छैन ।

भूकम्पबाट होटल तथा रेस्टुराँमा भएको क्षतिबारे पर्यटन विभाग र सहरी विकास भवन निर्माण विभागले प्राविधिक निरीक्षण गरिरहेको छ । प्राविधिक टोलीले अधिकांश होटल बस्न योग्य भए पनि कतिपयमा भने क्षति पुगेको जनाएको छ ।

टोलीका संयोजक इञ्जिनियर कोषनाथ अधिकारीका अनुसार नयाँ बानेश्वरको एभरेष्ट होटलको भवनमा संरचनागत क्षति भएकाले हाललाई बस्न असुरक्षित भनी रातो स्टिकर टाँसिएको छ । रातो स्टिकर टाँसिएपछि होटल एभरेष्टले आफ्ना सबै कर्मचारीलाई बिदा दिई होटल बन्द गरेको छ ।

प्राविधिक टोलीले राजधानीका हायात रिजेन्सी, सोल्टी, ¥याडिसन, अन्नपूर्ण, मल्ल र साङ्ग्रिला होटलमा हरियो स्टिकर (बस्न मिल्ने) टाँसेको छ । सोल्टी होटलको भवनसम्म पुग्ने बाटोका पर्खाल मर्मत गर्नुपर्ने र त्यहाँको क्यासिनो भवनमा सामान्य क्षति भएको छ ।

हायात रिजेन्सीको क्यासिनो भवनमा सामान्य मर्मत गर्नुपर्ने भएकाले पहेँलो स्टिकर (कम खतरा) टाँसिएको छ । होटल अन्नपूर्णको क्यासिनो भवनमा रातो स्टिकर (खतरा) टाँसिएको छ । सो भवन भत्काउन थालिएको छ ।

ठमेलको काठमाडौँ गेष्ट हाउसका पाँच भवनमध्ये हेरिटेज ब्लक प्रयोग नगर्न भनिएको छ । ताहाचलको ग्रान्ड होटल र सँगैको प्लाटिनम होटल सुरक्षित छन् । लाजिम्पाटको बजेट होटल पूर्ण रूपमा क्षति भएको छ ।

प्राविधिक टोलीका संयोजक अधिकारीले पूर्ण क्षति भएकालाई कुनै स्टिकर नटाँसिने स्पष्ट गर्नुभयो । “रातो स्टिकर पनि मर्मत गर्न सकिने र गर्न नसकिने दुवैखालका हुने गरी टाँसिएको छ” – उहाँले भन्नुभयो ।

एयरपोर्ट होटलका दोस्रो र तेस्रो तलाका पर्खाल चर्केकाले पहेँलो स्टिकर लगाइएको छ । प्राविधिक परीक्षणमा ठमेलको होटल मनाङ सुरक्षित देखिएको छ । त्यहाँ हरियो स्टिकर लगाइएको छ ।

पर्यटन विभाग होटल शाखाका अनुसार नेपालमा १० पाँचतारे, दुई चारतारे, ३१ तीनतारे, ४८ दुईतारे, ३५ एकतारे र ४३० वटा पर्यटकस्तरीय होटल छन् ।

होटल एसोसिएसन नेपाल (हान) का महासचिव विनायक शाह प्राकृतिक विपद्बाट सिर्जित चुनौतीको सामना गर्दै विदेशी पर्यटकलाई नेपाल आउने वातावरण बनाइराख्न सबै सरोकारवाला निकायको ध्यान जानुपर्ने बताउनुुहुन्छ ।

“भूकम्पबाट ९५ प्रतिशत होटल सुरक्षित रहेको भएपनि भूकम्पपछि आवश्यक काम परेर आउनै पर्ने पर्यटकबाहेक घुम्न र रमाइलो गर्न आउने पर्यटक घटेका छन्” – महासचिव शाह भन्नुहुन्छ ।

देशभर साना ठूला गरी चार हजारभन्दा बढी होटल छन् । ती होटलमा एक खर्ब रुपैयाँ भन्दा बढी लगानी छ भने तीन लाख नागरिकले प्रत्यक्ष रोजगारी पाएका छन् । यी होटलहरुमा करिब २५ हजार शय्या क्षमता छ । भीष्मराज ओझा÷सिबी अधिकारी, रासस

तपाइँको प्रतिक्रिया ।