नेपाली हुँ म : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २१।
उठाऊँ म खुँडा ढालौँ, माटो यो कुल्चनेहरू
आमाको मुटुमा टेक्दै निस्फिक्री उफ्रनेहरू
सीमा स्तम्भहरू सार्दै घाउ लगाउनेहरू
निम्सरा हुन् भनी नाना दाउ लगाउनेहरू ।
आगो सल्काउँने गर्छन् जसले परबाट नै
भाँडो रित्याउँने गर्छन् जसले घरबाट नै
यी सबै शत्रु हुन् हुन्न हुन्न बास दिने कुरा
आफ्नाको कामहो बाँच्ने आस श्वास दिने कुरा ।
नलागेको कतै दाग माटो चुम्न म खोज्दछु
पुर्खाको पाइला हेर्दै बाटो हिँड्न म खोज्दछु
म खोज्छु शानका साथ चम्केका टाकुराहरू
म खोज्छु खुकुरी बोक्दै गर्जेका पाखुराहरू ।
छाती उम्लन्छ के गर्नु सुस्ताको नगरौँ कुरा
नक्साले हुन्न चाहिन्छ ती लिपु लिम्पियाधुरा
एउटै आँगनीभन्दै हाँस्दै खेल्दै रमाइयो
तर सन्त्रास त्यै दिन्छ, सीमा पर्खाल चाहियो ।
छन् लाखौँ वीरता बोक्ने सन्तति भक्तिका यहाँ
उभिने पहरा जस्तै सहस्र आँटले सदा
बुद्धि विबेकले लेख्ने स्वाभिमानी कथा नयाँ
नेपाली हुँ परे पोख्छु तातो रगत देशमा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक