जोसमनि सम्प्रदायको उदय : शितल गिरी ( लेख )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १४ ।
नेपालमा प्रचलित अनेक धार्मिक सम्प्रदायहरूको अस्तित्व धेरैको समाप्त भइसकेको छ र कैयौं सम्प्रदायहरू दिनदिनै क्षीण हुँदै छन्, तर जोसमनि सम्प्रदाय प्रचलनमै रहेबाट यसको उपयोगिता र जीवनशीलता सिद्ध हुन्छ । अरू सम्प्रदाय, प्रायः बाहिरी प्रभावबाट यहाँ विकसित भएका थिए । नेपालको विचार र समाज–व्यवस्थाको अनुकूलताको ख्याल नराखी एक प्रकारको आडम्बर झै गृहीत भएकोले ती सम्प्रदायहरू नेपाली जनजीवनलाई धेरै समयसम्म प्रभावित पारिरहन समर्थ भएनन् । तर जोसमनी सम्प्रदाय नेपालको समाज व्यवस्थाको सुधारको निमित्त उपयुक्त, सरल र सात्विक भएकोले भौतिक जीवनको सामान्य व्यवहारको साथ साथै यस सम्प्रदायले जनप्रियताप्राप्त गर्न सकेको हो । धार्मिक मतको अर्थ केवल परमार्थ साधन कदापि होइन ।
धर्म एक व्यवहार नै हो । तर कालान्तरमा धर्मको व्यवहारिक रूप लुप्तहुँदै जान्छ र जनतामा त्यस धर्मप्रति अन्धविश्वास पैदा हुन जान्छ । अन्धविश्वासहरू न ऐहिकनत पारलौकिक साध्यको निमित्त सहायता गर्दछन् । समाजमा भएका कुरीतिहरू र संगठनको अभावमा समाजमा हुन आएका कमजोरीहरूलाई सन्तहरू केलाएर हेर्दछन् । केवल आफ्नू आत्मशुद्धिको निमित्त अथवा पारलौकिक साध्यका लागि कन्दरामा तपस्या गर्ने सन्तहरू र मत–प्रवर्तक गर्ने सन्तहरूमा ठूलो अन्तर छ ।
जनजीवन सितप्रयोजन नराखी आफ्नै साध्यका लागि जपतप गर्ने सन्त वा सिद्धको अस्तित्व अब छैन । जसले समाजलाई हेरेर धर्म र मतलाई समाजको लाभको निमित्त प्रस्तुत गर्दछन्, तिनको प्रचार गर्दछन् त्यस्ता मत प्रवर्तक सिद्धहरूको अस्तित्व अहिलेसम्म पाइँदैछ । धर्मको नाममा जनता मूलतत्त्वबाट टाढा भएर अवान्तर पक्षमा रङ्गमगिन थाल्छ र विस्तार विस्तार जनतालाई जीवनदिने खालको ओज त्यसमा रहँदैन । समाजमा अरू दुष्प्रभावित हुन्छ र त्यस्ता स्थितिमा नयाँ मत लिएर सन्तहरूको प्रादुर्भाव हुन्छ । उत्तर वैदिककाल र ब्राह्मणकालमा यज्ञ–यगादिको प्रचार अधिक भयो ।
स्वभावतः यसले हिंसाको प्रचार बढ्यो । बौद्ध धर्म हिंसा विरोधी भइकन पनि जैन–धर्ममा झैं हिंसाको उग्र विरोधी र अति कठोर आचारको व्यवस्था छैन । ब्राह्मणबादबाट सताएकालाई त्राण दिन प्रवर्धन गरिएको जैन धर्मका आचारहरूमा जनताले आफूलाई खपाउनै सकेन । फलतःबौद्ध धर्मले अपनाएको मध्यममार्गको प्रचार अधिक हुनगयो ।
कुनै धर्मका आचारमा पवित्रता भएर मात्र त्यसको महत्ता हुँदैन । बौद्ध धर्मसित पनि कालान्तरमा अनेक सम्प्रदाय र दर्शन खडा भएर नै बौद्ध धर्मका प्रवर्द्धक बुद्धको मूल आशयनै समाप्तभयो ।
मूर्ति पूजाको विरोधी अथवा शब्दान्तरमा निर्गुणो पासक बौद्धधर्मका सम्प्रदायहरू स्वयम् बुद्धलाई देवताको रूपमापूजा गर्न थाले । यसको कारण पनि ब्राह्मणवाद नै थियो । ज्ञान, शास्त्रीयता र दर्शनको दृष्टिले ब्राह्मणवाद यति विकसित थियो कि उसको मुकाबिलामा बौद्ध–धर्म सदा नै दृढ भएर टिक्न सकेन । मुक्तिको निमित्त कुनै कठोर आचार गर्नु पर्दैन, मानवको उपभोगको निमित्त बनेका सम्पूर्ण बस्तुहरूको उपभोग बाधा–बन्धनहिन भएर गर्नाले मुक्ति पाइन्छ भन्ने मत भएको सम्प्रदाय बौद्ध धर्ममा देखा पर्यो ।
यसले सहजयानको उचित संज्ञा पायो । नेपालको सन्त परम्परामा सहजयानको प्रभाव यति व्यापक रूपले परेको छ । जसको प्रभाव आजपनि प्रत्यक्ष रूपले देखिंदैछ । सन्त परम्परामा अरूको पनि उल्लेख पाइन्छ । जस्तै, नेपालका लिच्छवि राजाको शिलालेखमा मुण्डश्रृङ्खलित पाशुपताचार्यको परिषद्लाई गुठी राखेको उल्लेख पाइन्छ । -RanaieroGnoli – Nepalese inscriptions in Gupta characters Part- 1 M Ismero Roma 1956 A.D. Page No.79.) जातपातको भेदहीनता त बौद्ध–धर्मको मूलआधार नै हो ।
त्यसकारण निम्नकुल र उच्चकुलभन्ने प्रश्न सहजयानीहरूको सामुन्ने नरहनु पर्ने हो । तर साथ साथै जाति र कुल भेद बताउने ब्राह्मणबाद पनिजीवितअवस्थामै थियो । उनीहरूको जाति र कूल छुट्याउँने आधार ब्राह्मणवादको वर्गीकरण नै हो । मदिरा पान गर्नु र स्त्रीलाई महामुद्रा बनाएर साधना गर्नु मुक्तिद्वार खोल्ने सम्प्रदाय नै खडा भयो र यो सम्प्रदाय ईसाको सातौं शताब्दीदेखि लिएर तेह्रौं चौधौं शताब्दीसम्म त फैलिएर नै रह्यो, शेष प्रभाव त अझै पनि छँदै छ ।
चचा (चर्यां गीतको संज्ञा दिइने गानमा चौरासी सिद्धहरूका रचना (भजन) आजकालपनि बडो आदरका साथ गाइँदै छ र साथै स्त्रीलाई महामुद्रा बनाएर पूजा गर्ने विधिको परम्परा अझै पनि धार्मिकरूपमा चलाइँदै छ ।
सहजयानका प्रचारक चौरासी सिद्धहरूमा प्रमुख सरहदपाद र गोरखनाथ हुन् । चौरासी सिद्धमध्ये केही सिद्ध त नेपालकै पनि छन् । चौरासी सिद्ध मध्येका गोरखनाथ हिनयानी मात्र थिएनन् । वज्रयान, मन्त्रयान र सहजयानबाट प्रभावित शैवमार्गी थिए । गोरखनाथ झै मीननाथ र मच्छिन्द्रनाथ पनि नेपालको माटोमा उत्तिकै पूज्यएवं आदरणीय छन् ।
नेपाली सन्तहरूको परम्परा बारे अझै राम्रो अध्ययनहुन सकेको छैन । जोसमनी सन्त सम्प्रदाय नेपालको हो, यस सम्प्रदायमा कैयौं प्रसिद्ध सन्तहरू भए तर यस सम्प्रदायको नामको अर्थ आजपर्यन्त अनुमानित नै छ र हुनसक्छ यस सम्प्रदाय प्रवर्द्धक नाम ‘जोसमनी’थियो कि । यस सम्प्रदायका कतिपय सन्तहरूका रचनामा ‘जोसमनी’ शब्दको उल्लेख आउँछ तर कहींबाट यसको अर्थ खुल्दैन । साङ्ख्य दर्शनका प्रवर्तक महर्षि कपिल नेपालको कपिलबस्तुको भएको मानिएको छ । साङ्ख्य दर्शन तत्त्वप्रधान ज्ञानदर्शन हो ।
यसले निर्देशित गरेको पच्चीस तत्त्वको सम्यक ज्ञान नै वास्तवमा मोक्ष हो । यसले प्रकृति–पुरुषलाई अतिशय महत्त्व दिएको छ । साङ्ख्य दर्शनमा पुरुष भनेर जीवात्मालाई लिइएको छ । साङ्ख्य दर्शनकै आधारमा बौद्ध, सिद्ध–सन्त परम्परा परिमार्जित हुदै अगाडी बढ्ने क्रममा जोसमनी सम्प्रदायको उदय भयो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक