विष्णुप्रसाद शर्मा पराजुलीको “कर्णालीमा प्रचलित दर्शन–परम्परा” प्रकाशित

विष्णुप्रसाद शर्मा पराजुलीको “कर्णालीमा प्रचलित दर्शन–परम्परा” प्रकाशित

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १३।
नेपाल प्रज्ञा प्रतिष्ठानले दर्शन सम्बन्धी पुस्तक प्रकाशित गर्ने क्रममा कर्णालीमा प्रचलित दर्शन–परम्परा नामक पुस्तक प्रकाशित गरेको छ । नियात्रा विधामा साधनारत विष्णुप्रसाद शर्मा पराजुलीले पाँच अध्याय रहेको सो पुस्तक लेखेका हुन् ।
पहिलो अध्यायको जगत्को उत्पत्ति र मानव सभ्यताको विकास अन्तरगत ब्रह्माण्ड, पृथ्वी र प्राणीको उत्पत्ति, मानव सभ्यताको विकास र बसोबास तथा नेपालको सामान्य चिनारी रहेका छन् ।

दोस्रो अध्याय नेपाली दर्शनको आधारमा दर्शनको आधार र परिचय तथा वेद र उपनिषद्मा हिमाली उपमहादेशको दर्शनको परिचय दिइएको छ । अध्याय तीनको कर्णालीको चिनारी अन्तरगत कर्णली परिचय, मानव सभ्यता, कर्णालीमा दर्शन परम्परा, संस्कृति र मष्टो कुलायन परम्परा समावेश छन् ।
मुख्य चौथो अध्याय कर्णालीमा प्रचलित दर्शन–परम्परामा लोकायत, बोन, शाक्त, शैव, वैष्णव, साङ्ख्य, बौद्ध, मीमांसा र ब्रह्म दर्शनबारे चर्चा गर्दै कर्णालीमा ती दर्शनको अवस्थाबारे जानकारी दिइएको छ ।
अन्तिम अध्यायमा नेपालमा प्रचलनमा रहेका जैन, वैशेषिक, न्याय र योग दर्शन बारे चर्चा गरिएको छ । सरल भाषामा मानव सहित दर्शनको विकाससम्मको चर्चा गरिएको हुनाले दर्शनबारे सामान्य जिज्ञासा राख्न चाहने पाठक तथा विद्यार्थीको लागि पुस्तक अत्यन्त उपयोगी छ ।

त्यसको अलवा नेपाली र हिन्दीमा लेखिएका ६७ पुस्तक तथा वअङ्ग्रेजी भाषामा लेखिएका १६ पुस्तकका साथै विद्युतीय माध्यममा रहेको सन्दर्भ राखिएको हुनाले कृति अनुसन्धानमूलक बनेको छ ।

कर्णालीबारे त्यसको ऐतिहासिक पक्ष, खस साम्राज्य र संस्कृतिको परिचय सहित दर्शनमा प्रवेश गरेको हुनाले कर्णालीको लागि त पुस्तक सन्दर्भ ग्रन्थ बन्न पुगेको छ । चार पृष्ठ लामो सन्दर्भ–ग्रन्थसूची सहित ४४८ पृष्ठ रहेको पुस्तकको मूल्य ४८५ रहेको छ । पराजलीका नियात्रा कृतिमा तिब्बत यात्रा–२०७२ (अङ्ग्रेजी र नेपाली), डोल्पोः विश्वको जीवित सङ्ग्रहालय –२०७४, श्वेत पर्वत–२०७८ प्रकाशित भएका छन् ।

तपाइँको प्रतिक्रिया ।