गहना बेचेर जस्तापाता किन्दै भूकम्प पीडित

गहना बेचेर जस्तापाता किन्दै भूकम्प पीडित

१४ जेठ, चरिकोट । दोलखाको पश्चिमी गाउँ लाँकुरीडाँडा–७ की मङ्गली श्रेष्ठ आज सदरमुकाम चरिकोटस्थित एक सुन पसलमा आफूले लगाएको कानको झुम्का फुकाल्दै गर्दा भेटिइन् ।

पसलमा सुन बिक्री गर्न आएकी मङ्गलीको एउटै उद्देश्य थियो, सुन बेचेर जस्ता को टहरा जोड्ने । सदरमुकामको सुन पसलेलाई आफूले लगाएको झुम्का, तिल्हरी र औँठी बेचेर मङ्गलीले रु ४८ हजार जम्मा गरी नजिकैको अर्को हाड्वेयर पसलमा पुगेर जस्ता खरिद गरिन् ।

02

दोलखा सदरमुकाम चरिकोटका सुन पसलहरूमा मङ्गली जस्तै गहना बेच्न आउनेको भिड देखिन्छ । यतिखेर गहना बेच्नेहरूको एउटै उद्देश्य भनेकै जस्ता खरिद गर्ने र अन्नपात किनेर त्यसको जोहो गर्ने ।

सदरमुकामका सुन व्यवसायीका अनुसार सुन बेच्न आउनेहरू निकै बढेका छन् । ‘मेरो सुन लिईदिनुस भनेर धेरै जसो महिलाहरू आउनुहुन्छ, केही पुरुषहरू पनि आउने गर्नुहुन्छ’ सदरमुकाम चरिकोटस्थित सातदोबाटो चोकको केफो सुन चाँदी गहना पसलका सञ्चालक कृष्ण धनुकेले भने ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको शक्तिशाली कम्पनले घर भत्काइदिएपछि अस्थायी कटेरा बनाउन जिल्लाका स्थानीयले सुनसमेत बेचेर जस्ता पाता खरिद गर्न थालेका छन् । जस्ता खरिदका लागि सदरमुकाम आइपुग्ने अधिकांश महिला र केही पुरुष सुन बेचेर छानोको जोहो गर्नेहरू भेटिने गरेको स्थानीय बताउँछन् ।

मङ्गलीका श्रीमान रोजगारीका क्रममा खाडी मुलुकमा छन् । ‘श्रीमान खाडी मुलुक मलेसियामा श्रम गरिरहनुभएको छ, यहाँ खानामा समस्या भयो, छ जनाको परिवार पाल्नु छ, आफ्नो घर लड्यो त्यसैले सुन बेचेर भएपनि परिवार त पाल्नै पर्यो’ सानो बच्चा काखमा बोकेकी मङ्गलीले आँखाभरि आँसु पार्दै सुन बेच्दै भनिन् ।

मङ्गलीसगैँ लापिलाङ गाविस ४ की कल्पना थामीको पिडा पनि उस्तै छ । । उनी  सुन बेच्न सदरमुकाम आउँदै गर्दा भेटिइन् । ‘श्रीमान विदेशमा हुनुहुन्छ, तुरुन्त पैसा आउने सम्भावना छैन, घरव्यवहार धान्न आफूले लगाएको गहना बेच्नु बाध्यता हो’ उनले भनिन् ।

भूकम्पले घर भत्काएर बिचल्ली पारेपछि कल्पनालाई १४ जनाको परिवार पाल्ने चिन्ता छ । ‘आफ्नो सम्पत्ति सबै भुकम्पले सखाप पार्यो, जिन्दगी जिउनका लागि पनि सुन बेचेको पैसाले जस्तापाता किनेर टहरा बनाउँदै छु’ कल्पनाले वेदना सुनाइन् । रासस

 

तपाइँको प्रतिक्रिया ।