राष्ट्रपति द्वारा भक्तपुर निरीक्षण: पिडकलेभने “लौन बासस्थान व्यवस्था गरिदिनुपर्यो”

राष्ट्रपति द्वारा भक्तपुर निरीक्षण: पिडकलेभने  “लौन बासस्थान व्यवस्था गरिदिनुपर्यो”

बैशाख २८ भक्तपुर । भूकम्प पीडित भक्तपुरबासीले सोमबार राष्ट्रपति डा रामवरण यादवसमक्ष राहत र बासस्थानको माग गरेका छन् । जिल्लाको भूकम्पबाट प्रभावित क्षेत्रको अवलोकन गर्न त्यहाँ जानुभएका बेला पीडितले सो आग्रह गरेका हुन् ।

राष्ट्रपति डा. यादवले वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परेर क्षति भएको भक्तपुर नगरपालिकाका विभिन्न टोल र भक्तपुर दरबार परिसर, सुकुलढोका, गोल्मढी, सूर्यमढी, जेँला, इनाचो र विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा पुगेर भूकम्पले पुर्याएको क्षतिबारे जानकारी लिनुभएको थियो ।

President-Dr-Yadav-Bhaktapur

गोल्मढी टोलका सर्वसाधारणसँग केही बेर कुरा गर्नुभएका राष्ट्रपतिलाई स्थानीय भूकम्प पीडितले उचित राहत र बासस्थानको यथाशीघ्र पहल गर्न आग्रह गरे । उनीहरूले वर्षात् सुरु हुन लागेकाले समयमा नै उचित बासस्थान नभएमा आफूहरूको पीडा झन् धेरै हुने तथा बालबच्चा, वृद्धवृद्धाको स्वास्थ्यमा समस्या आउने गुनासो गरे ।

भक्तपुरको दरबार स्क्वायरमा पुग्नुभएका राष्ट्रपति डा यादवलाई नेमकिपाका अध्यक्ष एवं सभासद् नारायणमान बिजुक्छेले स्वागत गर्नुभएको थियो । उहाँलाई बिजुक्छे, सभासद् प्रेम सुवाललगायतले भक्तपुरमा भएको क्षतिबारे जानकारी गराउनुभएको थियो ।

भक्तपुर दरबार क्षेत्रबाट पैदल नै उहाँले यहाँका विभिन्न क्षतिग्रस्त संरचनाको अवलोकन गर्नुभएको थियो । भूकम्पमा परी भक्तपुरमा हालसम्म ३१९ जनाको मृत्यु भएको तथा चार हजार ५०० घाइते भएका छन् ।

 

तपाइँको प्रतिक्रिया ।