पत्रकारहरुलाई त्रिपाल वितरण

पत्रकारहरुलाई त्रिपाल वितरण

भूकम्प प्रभावित नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा आबद्ध पत्रकारहरुलाई सोमबार त्रिपाल वितरण गरिएको छ ।

शाखामा आवद्ध पत्रकार तथा विभिन्न सञ्चारमाध्यममा कार्यारत पत्रकारहरुलाई त्रिपाल वितरण गरेको हो । १ सय ५० पत्रकारलाई लक्षित गरी वितरण गरिएको त्रिपाल ६० जनाले वुझेका थिए ।

Tripal-Distribution

केही पत्रकारले आफू घरबारविहीन भए पनि तत्काल बासको व्यवस्था भएकोले पाल नचाहिने भन्दै आवश्यक परेकालाई आफ्नो तर्फबाट वितरण गरिदिन आग्रह गर्दै तत्काल फिर्ता गरेका थिए ।

जिल्ला शाखामै आयोजना गरेको एक कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले पत्रकारलाई उपलब्ध गराउन महासंघलाई त्रिपाल हस्तानतरण गर्नुभएको थियो ।

त्यस्तै भूकम्पबाट मानवीय क्षति ब्यहोरेका शाखाका साधारण सदस्य प्रकाश शर्मा नेपाललाई ५ हजारको आर्थिक सहयोग पनि गरेको छ । उहाँका आमा लक्ष्मी नेपालको निधन र वहिनी उषा नेपाल गम्भिर विरामी भई उपचाररत रहेको र सिन्धुपाल्चोकको लामासाघुमा रहेको घर समेत पूर्ण रुपमा क्षतिग्रस्त भएको अवस्थालाई मध्यनजर गरेर सो राशी वरावरको आर्थिक सहयोग गरिएको हो ।

कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र विष्टले भूकम्पका वेला नेपाली सञ्चारमाध्यमले ज्यान जोखिममा राखेर समाचार संकलन र सम्प्रेषण गरेको भन्दै नेपाली सञ्चार माध्यमको प्रसंसा गर्नुभएको थियो ।

भारतीय सञ्चारमाध्यमको तुलनामा नेपाली सञ्चार माध्यमले भूकम्पको रिपोटिङका क्रममा परिपक्वता देखाएको भन्दै उहाँले पत्रकारहरुको प्रसंसा गर्नुभयो । नेपाली पत्रकारहरुले ज्यान जोखिममा राखेर भए पनि आफनो पेशामा लगनशिलता देखाएको उहाँको भनाई थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण आर्यालले कोही पनि पत्रकारहरु राहतवाट वन्चित हुन नपर्ने भन्दै पत्रकारसँगै प्रशासन कार्यालय सहकार्य गरेर राहत अभियानमा जुटन तयार रहेको जानकारी दिनुभयो । उपत्यकावासीले १२ गते घरवाहिर निस्कदा लगेको त्रिपाल फिर्ता नगर्दा पालको अभाव देखिएको भन्दै अर्यालले भूकम्पको पहिलो दिन घर वाहिर वस्दा प्रयोग गरेका त्रिपाल फिर्ता गर्ने नैतिकता देखाईदिन आग्रह गर्नुभयो ।

शाखाका अध्यक्ष गोविन्दप्रसाद चौलागाईले विपद्का वेला पत्रकारहरुको साथमा महासंघ सदैव सक्रिय भएर लागिरहने वताउनुभयो । जिल्ला शाखाले पत्रकारको पीडामा मलमपट्टी लगाउन पहलकदमी लिएको वताउनुभयो ।

महासंघले आगामी दिनमा पनि पीडित पत्रकारहरुलाई सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ । यस अघि २५ वैशाखमा काठमाडौं जिल्ला शाखाले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्वर ११ वैखु टोलका भुकम्प पीडित ४० घर परिवारलाई खाध्यान्न लगायतका सामाग्री वितरण गरेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।