जबज प्रवर्धनका लागि मदन भण्डारी फाउण्डेशन र त्रिभुवन विश्वविद्यालय विच सम्झौता

जबज प्रवर्धनका लागि मदन भण्डारी फाउण्डेशन र त्रिभुवन विश्वविद्यालय विच सम्झौता

कपन अनलाइन

काठमाण्डौ ,फागुन ३०।

मदन भण्डारी फाउण्डेशन र त्रिभुवन विश्वविद्यालयका दुई विभाग बीच जननेता मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवादलाई अनुसन्धान र शैक्षिक संलग्नता मार्फत प्रवर्द्धन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

फाउण्डेशन र त्रिभुवन विश्वविद्यालय नेपाली तथा अङ्ग्रेजी केन्द्रीय विभाग बीच एमओयु पत्रमा सम्झौता भएको हो । सम्झौता अनुसार एमए, एमफिल र पिएचडीमा अध्ययनरत विद्यार्थीहरूलाई मदन भण्डारी फाउण्डेशनले अध्ययन, अनुसन्धान र सोधका लागि छात्रवृत्ति प्रदान गर्नेछ भने बिश्वबिद्यालयको विश्वविद्यालय नेपाली तथा अङ्ग्रेजी केन्द्रीय विभागहरूले जनताको बहुदलीय जनावादको आलोकमा गरिने सोध कार्यका लागि विद्यार्थी छनोट लगायत अनुसन्धानका आवश्यक प्राज्ञिक विषयमा काम गर्नेछ ।

फाउण्डेशन र त्रिभुवन विश्व विश्वविद्यालयको अङ्ग्रेजी केन्द्रीय विभाग बीच भएको सम्झौता पत्रमा मदन भण्डारी फाउण्डेशनकी अध्यक्ष उषा किरण भण्डारी र त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी केन्द्रीय विभागका प्रमुख प्राडा जीवलाल सापकोटाले हस्ताक्षर गर्नुभएको छ । यसै गरी फाउण्डेशन र त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभाग बीच भएको सम्झौता पत्रमा फाउण्डेशनकी अध्यक्ष उषा किरण भण्डारी र त्रिभुवन विश्वविद्यालयका नेपाली केन्द्रीय विभाग प्रमुख प्रा.डा. कृष्णप्रसाद घिमिरेले हस्ताक्षर गर्नु भएको छ ।

हस्ताक्षर कार्यक्रममा फाउण्डेशनका शिक्षा अध्ययन अनुसन्धान विभागका संयोजक महेन्द्रबहादुर पाण्डे, फाउण्डेशनका सचिवालय सदस्य सुशील प्याकुरेल, डा कुन्दन अर्याल , प्राडा प्रेम सागर चापागाईँ लगायतको उपस्थिति रहेको थियो भने विश्वविद्यालयका तर्फबाट प्राडा धुव्र कार्की, प्राडा नेत्रमणि सुवेदी लगायतको उपस्थिति थियो ।

यस अघि पनि फाउण्डेशन र त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्र केन्द्रीय विभाग, इतिहास केन्द्रीय विभाग,मानव शास्त्र केन्द्रीय विभाग, अर्थशास्त्र केन्द्रीय विभाग , समाज शास्त्र केन्द्रीय विभाग, जल तथा मौसम केन्द्रीय विभाग, आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग तथा श्रम अध्ययन कार्यक्रम बिच यस्तै सम्झौता र हस्ताक्षर भइसकेको छ ।

तपाइँको प्रतिक्रिया ।