दुधकुण्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेयर प्रमाणपत्र वितरण गर्यो

कपन अनलाइन

काठमाडौँ,फाल्गुन ३० । दुधकुण्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेयर प्रमाणपत्र वितरण गरेको छ। शनिबार गोकर्णेश्वरको ओसिस पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा  काठमाडौ क्षेत्र नं. ३ का संघीय सांसद कृष्ण राई रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा सदस्य द्वय डम्बर बहादुर श्रेष्ठ, नन्दलाल श्रेष्ठ लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता दुधकुण्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजकुमार श्रेष्ठले गरेका थिए।

दुधकुण्ड वचत तथा ऋण सहकारी संस्था लिमिटेड सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको वडा नं. ७ नाजिङबाट काठमाडौ आएर बसोबास गर्दै आएका महानुभावहरुको पहलमा स्थापना भएको हो । अनौपचारिक रुपमा ११ बर्ष देखि नै आर्थिक कारोबार गर्दै आएको भएपनि हालै गोकर्णेश्वर नगरपालिका कार्यालयमा दर्ता गरी सबै सेयर धनीलाई सेयर प्रमाण पत्र वितरण गरेको हो ।सेयर प्रमाणपत्र वितरण कार्यक्रममा संस्थाका सचिव डा. खड्ग नारायण श्रेष्ठले अब १०/१५ लाख रुपैयाँ लगानीका लागि कुनै समस्या नपर्ने बताएका थिए । उनले बैंकले ऋण दिंदा सम्पति धितो राखेर मात्र ऋण दिने भएकाले भौतिक सम्पति नहुनेले ऋण नै नपाउने अवस्था सिर्जना हुने भन्दै सहकारी संस्थामा सामूहिक जमानीको आधारमा पनि ऋण दिन सकिने भएकाले भौतिक सम्पति नभएका व्यक्तिले पनि ऋण लिएर लगानी गर्न सकिने बताएका थिए  ।

सहकारी संस्थाका कोषाध्यक्ष चित्रध्वज खत्रीले  हाल संस्था  ५२ जना पुरुष र २९ जना महिला गरी ८३ जना सेयरधनीहरुरहेको र   सहकारीको कुल पूँजी ८७ लाख, ६७ हजार ७ सय रुपैयाँ रहेको जानकारी दिएका थिए । गोकर्णेश्वर नगरपालिकाको वडा नं. ८ मा स्थापना भएको दुधकुण्ड बचत तथा ऋण सहकारी संस्थालाई आउँदो दिनमा सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. ७ मा समेत शाखा कार्यालय सञ्चालन गर्ने योजना रहेको उनले बताएका थिए  ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम  वडा अध्यक्ष मनोजकुमार  ढुङ्गानाले आफू पनि लामो समयदेखि सहकारी संस्थामा जोडिएकाले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरेमा मात्र सहकारीसँग जोडिएका व्यक्तिहरुको आर्थिक समृद्धि हुने बताएका थिए  । उनले वचत गर्ने र व्याज मात्र खाने नीति हो भने सहकारीको लगानी बाहिर जान सक्ने भएकाले सहकारी भित्रकै सदस्यहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए  ।

 कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै काठमाडौ क्षेत्र नं. ३ का संघीय सांसद कृष्ण राईले मुलुकको आर्थिक विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।  सांसद राईले सहकारी संस्थाहरु नेपालको आर्थिक क्षेत्रको मेरुदण्ड भएकाले सिङ्गो मुलुकले सहकारीलाई अंगीकार गरेको बताएका थिए  ।सहकारीले आर्थिक समृद्धि मात्र ल्याउने नभई यसको दुरुपयोगका कारण जेल जीवन समेत विताउनु पर्ने दृष्टान्त पेश गर्दै उनले दुधकुण्ड सहकारीले सहकारी सदस्यहरुमा आर्थिक समृद्धि ल्याउन सकोस् भन्ने शुभकामना व्यक्त गरेका थिए  ।

कार्यक्रममा वडा सदस्य  नन्दलाल श्रेष्ठ, डम्बर बहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले गोकर्णेश्वर नगरपालिकाको वडा नं. ८ मा रहेको कार्यालयमा आएर सल्लाह सुझाव दिन आग्रह गरेका थिए  ।  उनले कार्यालय सञ्चालक समितिको मात्र नभई सबै सेयरधनीहरुको पनि भएकाले कार्यालयको ढोका सधैं खुला हुने र रचनात्मक सल्लाह सुझावलाई सदैव स्वागत गरिने बताएका थिए  । उनले अब दुधकुण्ड वचत तथा ऋण सहकारी संस्थामा सोलुको गार्माका मात्र नभई अरुलाई पनि जोडिदै लैजाने र आर्थिक क्रियाकलापलाई बढावा दिने बताए ।

तपाइँको प्रतिक्रिया ।