विहेभोज : त्रिलोचन ढकाल ( लघुकथा )

विहेभोज : त्रिलोचन ढकाल (  लघुकथा )

कपन अनलाइन
काठमाण्डौ ,माघ २२।

‘बा उठ ! छिटो उठ !’
बिहानै उठेर भुतुल्ले करायो । ऊ धेरै दिनदेखि भोको थियो । पुसे महिनाको जाडो थियो । थप, लगातारको बादल र कुहिरे वर्षाले हात खुट्टा कठाङ्ग्रिएका थिए । परिणामस्वरूप खाना खोज्न जान सकेको थिएन ।
पाङ्ग्रेले भुतुल्लेको आवाज सुन्यो । टाउको उठायो । अलि पर मान्छेहरूको भिँड देखियो । त्यही भिँडलाई देखाएर भुतुल्ले चिरियो– ‘हेर त आज त्यहाँ विवाह भोज रहेछ । जाउँ ! पेटभरि खाउँला ।’
खाने कुराको नाम सुन्दा छाउरीको
मुखबाट र्याल बग्नु स्वाभाविक थियो । तैपनि ऊ सतर्क भई– ‘हामीलाई निमन्त्रणा छ र ? निमन्त्रणा नभएको विवाह भोजमा, पेट जति निचरिएपनि जान ठिक हुँदैन ।’
‘भोको पेटका अगाडि कसको के लाग्छ र ? हामीले फालिएका सिता सिति न खानेहो ।’ पाङ्ग्रे बोल्यो ।
भुतुल्ले अगाडि लाग्यो । लड्दै र लडखडाउँदै । उसको पछि पाङ्ग्रे । सबन्दा पछाडि छाउरी । भोज बिचभागमा भएजस्तो थियो । वरिपरि मान्छेको पहरा जस्तो पर्खाल थियो । उनीहरू मानिसको टाँग मुनिबाट छिरेर भित्री भागमा पुगे । दृश्य देख्दा तिनै जनालाई पश्चाताप भयो ।
त्यहाँ भोज होइन, सिरेटोले कठाङ्ग्रिएर प्राणविहीन भएको नथुनीको शरीर थियो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।