छन्दका सय थुँगा पढेपछि : अरुणबहादुर खत्री ‘नदी’ ( पुस्तक समिक्षा )
कपन अनलाइन
काठमाण्डौ ,पौष १४ ।
‘छन्दका सय थुँगा’ नामक कवितासङ्ग्रह साहित्यकार एवं कवि त्रिलोचन आचार्यको २०७७ सालमा सातौँ कृतिको रुपमा प्रकाशित भएको छ । उनको माटाको बास्ना नामक कवितासङ्ग्रह पहिलो कृतिको रुपमा २०५६ सालमा निस्केको थियो । हामी जुरुक्कै उठौ, फुटबल, वर्षा, पानी, फर्केर आऊ घर, काठमाडौं लगायत विभिन्न शीर्षकका १०० वटा कविताहरु रहेका छन् । यस सङ्ग्रहभित्रको हामी जुरुक्कै उठौ शीर्षकको पहिलो कवितामा आविष्कार भए अनेक जगमा हेरेर हामी बस्छौं गर्दै जाँगर विश्वमा कति कुदे हामी पलेटी कस्यौ भनिएको छ । पानीबाट निकाल्नुपर्छ बिजुली जानेर आफै अब हावाबाट कुदाउँ मोटरहरु आफै गरी पौरख कवि त्रिलोचनले भनेका छन् । खेले खेल त पञ्चले पनि हिजो मैदान मैले दिएँ राजाले पनि खेलमा तुजुक नै गर्थे म हेर्दै थिएँ कविले फुटबल शीर्षकको कवितामा लेखेका छन् ।
असारे गीत गाएर रोपिन्छ धान छुप्छुप
इन्द्रेनी दिन चम्केर बन्नेछ मन ढुक्ढुक
बादलुको बढी बान्की प्रकृति प्रेम खुल्दछ
थाहा छ है सबैलाई वर्षाले घर भर्दछ ।
उनले लेखेका कविताहरुमा जागरणको सन्देश छ । उनका कतिपय कवितामा स्वाभिमान बोलेको छ । कविता सिर्जना होइन भावना र संवेदनाको उपज हो अर्थात् कविता लेख्छु भनेर
लेखिदैन । आमाको मन छैन शान्त अहिले गर्दै छ रे ढुक्ढुक भेटिन्नन् अब गाउँमा त सजिलै जन्ती मलामी तक फर्केर आऊ घर शीर्षकको कवितामा लेखेका छन् । यस सङ्ग्रहभित्रका कतिपय कवितामा अन्तर्मनका स्वतः स्फूर्त विशुद्ध भावहरुको अभिव्यञ्जना पनि छ । जन्मोत्सव, नयाँ दुलही, छोरी अन्माउँदा जस्ता कविताहरुलाई यस कोटीमा राख्न सकिन्छ । तातो साँच्न भनेर नित्य शिरमा टोपी लगाए पनि खोजी मफ्लर कान नाक चिउँडो छोपी सजाए पनि यात्रा तराईको शीर्षकको कवितामा कविले लेखेका छन् । यस्तो विश्व बनोस् शीर्षकको कविताभित्र यस्तो विश्व बनोस् जहाँ असजिला बाटाहरु बन्द हुन् मान्छेका दुःख दर्दका विपतका टाटाहरु बन्द हुन् भनिएको छ ।
आयो जन्मोत्सव अब नयाँ घाम लाग्दै छ प्यारो
डाँडा पाखातिर अब नयाँ याम लाग्दै छ प्यारो
बाटो लामो र पर परको रात रातै हिँडेर
आँहा ! नौलो अनुभव दिँदै बढ्न लाग्यो उमेर
कविले समाजमा घटेका यथार्थ घटना, विषयवस्तु अवस्था र परिवेशहरुलाई समेटेर कविता लेखेका छन् । यस सङ्ग्रहभित्रका कविताहरु पढ्दा कवि त्रिलोचन देशको बखान मात्र गरिरहेका छैनन् । उनी समाज र समय सचेत एवम् जिम्मेवार स्रष्टाका रुपमा समेत उपस्थित छन् । देशभित्रको राजनीति, ग्रामीण र सहरिया समाज, प्रशासन, अर्थतन्त्र, घरपरिवार आदि क्षेत्रमा व्याप्त विकृति र विसङ्गतिलाई समेत उनले आफ्ना कवितामा नजिकबाट नियालेका छन् र तिनमाथि निर्मम प्रहार गरेका छन् । आगो स्वयम् त्यो जलोस् शीर्षकको कवितामा राँको भैकन उठ्छ दन्दन कतै झर्दैन आगो तल बेला पाउनुपर्छ बढ्छ त्यसको सारा दबेको बल कविले लेखेका छन् । घाइते परेवी शीर्षकको कविताभित्र गरी आफ्नो सोझो हिँड्डुल कतै गर्न नहुने धसी आफ्नै चुच्चो दुःखसित भुँडी भर्न नहुने कविले भनेका छन् । झोला हुँ म त काम लाग्छु किन लौ छानेर मेलातिर बिर्से बोल्न कदापि हुन्छ सकसै पर्छौ झमेलातिर कविले झोला शीर्षकको कवितामा लेखेका छन् । कवि त्रिलोचनका कवितामा राष्ट्रबोध छ आफू जन्मेको र हुर्केको गाउँ, समाज, प्रकृति र माटोप्रतिको अनुराग छ, निरपेक्ष, युद्ध, हिंसा, आतङ्क र अशान्तिप्रति तीब्र घृणा छ अनि अहिंसा शान्ति, विश्वबन्धुत्व र मानवताको आह्वान छ । उनका कविताभित्र पलायन होइन सङ्घर्ष छ ।
देखियो फूलमा मुग्ध क्या राग छ
देखियो फूलको आज क्या माग छ
सोधियो फूलमा लौन के खास छ ?
जानियो फूलमा सत्यको बास छ ।
युगीन चित्रणमा सफल कवि आकाशका कविताहरुमा सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक र राजनीतिक परिवेश प्रभावपूर्ण ढंगले अभिव्यक्त भएका छन् । कवि त्रिलोचनको यस कृतिभित्र विविध, भाव, भूमि र विषयमा लेखिएका कविताहरु समावेश गरिएका छन् । केही कविता लामा छन् भने केही कविता छोटा छन् । उनका कृतिभित्र समावेश गरिएका सबै कविताहरु कुनै न कुनै उद्देश्य, सन्देश र चिन्तनमा केन्द्रित रहेका छन् । धेरै कविताहरु मानवीय जीवन र जीवनका विविध पक्षहरुमा व्यक्त गरेर लेखिएका छन् । केही कविताहरु माया, प्रेम र आत्मीयतामा केन्द्रित देखिन्छन् । केही कविताहरुमा राष्ट्रियता र देशप्रेमको भावना उजागर भएको छ । उनका केही कविताहरु प्रकृतिसंग सम्बन्धित छन् । केही कविताहरुमा प्रेमसँगै वियोग पनि मिसिएर आएको छ । नेपाली साहित्यको कविता विधामा विगत लामो समयदेखि फुटकर रचनाहरु लेख्दै आएका त्रिलोचनको यो कविता कृति सबैले पढ्नैपर्छ । उनका कवितामा प्रयोगमा आएका प्रकृतिका सुन्दर बिम्बहरु सराहनीय छन् । भावनामा प्रगाढता छ, अनुभूतिमा गहिराई छ, कविता लेख्ने शैली आकर्षक छ र प्रस्तुतिमा निख्खारता छ । जागरण, आध्यात्मिक चेतना र दार्शनिकताले परिपूर्ण उनका यी कविताहरु प्रेरणादायी र सन्देशमूलक छन् । यसमा उनले विभिन्न समयमा रचना गरेका एकसय कविताहरु समावेश गरिएका छन् । उनका कविताहरु साह्रै नै स्तरीय र मिठासले भरिएका छन् । उनका कवितामा सरलता, भावप्रवणता र प्रेमको स्पष्टता झल्किएका छन् ।
कवि त्रिलोचनका कतिपय कवितामा राष्ट्रिय स्वाधीनता चेत समेत सशक्त ढङ्गले मुखरित भएको पाइन्छ । कवि त्रिलोचनका कविताहरु भावनात्मक मात्र छैनन्, जीवन र जगत्को वास्तविक छवि चित्राङ्कनमा जति सक्षम छन् त्यति नै प्रयोगका दृष्टिले पनि बेजोड र सशक्त छन् । मानवीय संवेदनालाई व्यावहारिक रुपमा लेख्न खप्पिस कवि त्रिलोचन मध्यमवर्गिक मानिसका पीडाहरु बोल्ने कवि हुन् । उनका कवितामा अक्सर मानिसले पूरा गर्न नसकेका सपना, आर्थिक अभाव र नासिएको सम्बन्ध र जीवनमा तक्माजस्तो पटक पटक मिलेका हारहरु भेटिन्छन् । उनका कविताहरुले हारेका मानिसहरुको प्रतिनिधित्व गर्छ । शब्द र अक्षरहरुलाई अगाध माया गर्छन् कवि त्रिलोचन । अक्षर र अनुभूतिको यो गुच्छाले पाठकहरुको मनभित्र कलात्मक रङ र सुवास दिने कुरामा हामी विश्वस्त छौ । उनले लेखेका कवितामा विषयवस्तुको विविधता पाइन्छ, त्यस्तै उनका शिल्प शैलीमा पनि विविधता भेटिन्छन् । उनले लेखेका कविताहरु सरल छन् । शब्द र वाक्य विन्यास पनि सामान्य छ । त्यसकारणले कवि त्रिलोचनका कवितालाई आम पाठकले ज्यादै सरल भयो पनि भन्न सक्छन् ।
आयो ज्येष्ठ बढाउँदै जगतमा तातोपना सुस्तरी
गर्मी नित्य बढ्यो चढ्यो जगतमा सुख्खापना बेस्सरी
यी खोला खहरे समेत जिउनै गर्ने भए छट्पटी
लामो ग्रीष्म असाध्य भन्छ धरती मान्छे डराओस् कति ।
भो चाहिन्न शीर्षकको कवितामा भोको पर्दछ रे किसान जनता मान्दैन मेरो मन प्यासी बन्नु छ रे हुँदै नद नदी ठान्दैन मेरो मन कविले भनेको छन् । यस सङ्ग्रहभित्रको मित्रता शीर्षकको कवितामा तँ बन्धकी नबन्नु है अनेक जातपातमा तँ तिर्सना नपाल्नु है रमेर शक्ति खातमा कवि त्रिलोचनले भनेका छन् । उनले लेखेका कवितामा स्वतन्त्रता, समानता, सामाजिक न्याय एवम् मानवीय गरिमाप्रति गम्भीर सरोकार व्यक्त भएको छ । यस सङ्ग्रहभित्रका कविताले हामीलाई उज्यालोका निम्ति सङ्घर्ष गर्न प्रेरित गर्छन् ।
कवि त्रिलोचनको हृदय भावुक छ । उनलाई राष्ट्रको अगाध माया छ । त्यसैले त उनी भावनामा र कर्मशीलतामा नेपाललाई देख्दछन् । राष्ट्रका अङ्ग–अङ्गसित समाहित हुन पुग्दछन् । त्रिलोचन काव्यिक जगत्मा उदयीमान सर्जक हुन् । उनका समकालीन केही कविताहरु समय सान्दर्भिक र वलवान् देखिन्छन् । साँच्चै भन्ने हो भने उनीद्वारा लेखिएका कविताहरुको भाषा सरल छ । सरल शब्दमा उनिएका कविताहरु पढ्नमा जति सजिलो हुन्छ त्यसैगरी बुझ्न समेत कठिनाइ पर्दैन भन्ने भनाई पाठक वर्गको देखिन आउँछ । अन्त्यमा उनका अन्य राम्रा राम्रा कविता सङ्ग्रह थपिदै जाओस् भन्न चाहन्छु ।
पुस्तकः छन्दका सय थुँगा
विधाः कविता
लेखकः त्रिलोचन आचार्य
प्रकाशनः प्रथम २०७७ श्रावण
प्रकाशकः शब्दार्थ प्रकाशन
पृष्ठः १७१
मूल्यः रु.३५०।–
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक