रहस्यमय निर्णय : रञ्जना पराजुली लम्साल ( कथा )
कपन अनलाइन
काठमाण्डौ ,पौष १४ ।
नाइट ड्युटी गरेर आएकी कल्पना घर भित्रै नपसी बाहिर बरन्डामा राखेको खाटमा फुत्त ब्याग फाल्दै ‘आमा, म अब जागिर खान्न है ।’ पुषको कठारिङ्ग्दो जाडो । फुसफुसाएको तुषारोले ढपक्क ढाकेर सयपत्री फुलका बोटहरु खिङ्गरिङ्ग परेका थिए । सानो ढकी मा पुजा गर्न फुल टिप्दै गरेकी कल्पनाकि सासू ईश्वरी वाल्ल परिन बुहारीको कुरा सुनेर ।
कल्पनाको नाइट ड्युटी हुँदा सासू ईश्वरीलाई निक्कै नै हम्मे– हम्मे हुन्थ्यो । दिउँसोको कामलाई गा¥हो नमाने पनि रातिलाई असजिलो बनाउथ्यो सानी दुई बर्षकी नातिनीले । बैंसमै सौभाग्य गुमाएकी ईश्वरीको को नै थियो र अरु वैदेशिक रोजगारको लागि दुबई गएको एक्लो छोरो, बुहारी कल्पना र सानी नातिनी बाहेक ।
एकल महिला त्यसमा पनि बैंसमै बिद्यवा हुँदाको पिडा । धेरै लाच्छना सहदै आए पनि असल बुहारी कि सासू हुन पाउँदा भाग्यमानी ठानेकी ईश्वरीले बुहारीको कुरा सुन्दा अचम्म मान्न पुगिन । ‘कतै मैले नातिनीको स्याहारमा कमि त ल्याइन ? होईन होईन मेरि बुहारी त्यस्ती छैनन् । उनी माथी पाप चिताउनु भनेको त मरेपछि मैले स्वर्गको बाटो बन्द गर्नु हो । बिहे गरेर घरमा भित्रीएकी पनि पाँच पुगेर छ बर्ष लागे छ । अहिलेसम्म घरमा ठुलो स्वरले बोल्नु त परै जावस मलाई जवाफ सुद्द फर्काएकी छैनन् । भन्छन् नि सासू कहिले आमा हुन्नन र बुहारी कहिले छोरी । तर अहिलेसम्म नकारात्मक व्यबहार भएको छैन न त बाहिरी लपन छपन अनि कसरी पो पाप चिताउनु लाखौंमा एक पाएकी बुहारी माथि । कतै सोझी र असल देखेर घर बिगार्न गाउँकाले पो भाड्न थालेकी । “पापी मनले पाप चिताउन थाल्यो अनेकौं कुराहरूलाई नकारात्मक सोच लिदै तर नकारात्मक कुराहरू पहिल्याउन नसकेपछी मन आफै थामीयो । उफ, के भएकी होलि म पनि । नातिनी मेरि हुन । छोराको रगत आफ्नो छोराको । मेरो मुटु आफ्नो प्यारो मुटु । सारा समय यहि नातिनीमा अर्पेकी छु एक्लोपनलाई हराइ न्यास्रो मेटाउदै तर एक्कासी बुहारीको खाँदाखाँदैको जागिर छोड्ने कुराले कताकती चस्स खाएको थियोे मन ईश्वरीको ।
राती अबेला सुतेकी नातिनी बिहान ढिलै उठ्थी । सुतेको मौका पारी बिहान सबै काम सिध्याउछु भन्दै ईश्वरीले सुकेका सयपत्रीका बोटहरु उखलेर एकै ठाउँमा थुपारिन । देवतालाई चढाउन मिल्ने जती फुल टिपेर सानो ढकी भरी राखिन र सनक्क पारेर आँगन बढारिन । काममा भुलिदा पनि मन शान्त भएन । एउटै कुरा खेलिरह्यो दोहोर्याइ, तेहर्याइ ‘आमा, म अब जागीर खान्न है ।’ बुहारीतिर नहेरी आफ्नै सुरमा हात चलाइरहेकी ईश्वरीले खुलदुली मेटाउन ‘बुहारी, यो के भन्दैछौ तिमी ? नानी सानै छे काम नगर । पछि हुर्केपछी गरौली भन्दा मानेनौ । नानी मैले भन्दा हजुरले नै राम्रोसँग हेर्नुहुन्छ भन्यौ फेरि मैले पढेको योग्यताको सदुपयोग सङ्गै घरखर्चलाई सहयोग पनि
त हुन्छ तिमीले नै भनेकी थियौ तर आज एक्कासी जागिर छोड्ने कुरा …….. । “ बोलिरहेकी थिइन् ईश्वरी एकोहोरो तर कल्पना भित्र गइसकेकी थिइन् सासुका कुरा सुन्नु अगावै अनिदो आँखा र थकित शरीर लिएर उत्तर बिहिन हुँदै ।
सिरक भित्र न्यानो भएर निदाएकी नानी सायद सपनामा डुब्दै थिइ घरिघरि ङिच्च ङिच्च हास्दै । आमाको काख भन्दा हजुरआमाको काख प्यारो थियोे उसलाई । खुशी थिइ कल्पना एकदमै खुशी सासू आमाको एक्लोपनलाई साथ दिदै सानी छोरीले आफुलाई भन्दा हजुरआमालाई पछ्याउँदा । जागिरमा जान्थिन , आउँथिन । आमाले पकाएको खाना मीठो मायाको साथ खान्थिन र घरको काम भ्याएसम्म गर्थिन। बर्षमा एक चोटि एक महिनाको छुट्टिमा आउने श्रीमान अघिल्लो सालको छुट्टिमा आउँदा नानी सानै थिइ । अबको पाली आउँदा त बाबा भन्दै बोलाउने भइसकेकी छे । भिडियो कलमा देखि देखि बाबा चिन्ने भएकी छोरीले “ बाबा घल कहिले आउने ? “ भन्दै तोते बोलिले बोलाउदा मन कुटुक्क खान्छ कल्पनाको । तर गर्नु के कमजोर जायजेथा अनि दिनहुुँ आकाशिदै गएको महङ्गीको मार खेप्न श्रम जति बिदेशमै खर्चिनु पर्ने बाध्यता युवा पुस्ताको ।
महिनामा एक हप्ता नाइट ड्युटी पर्दा बिहान आएर नुहाइ–धुवाइ गरि चिया पिउँदै सासू आमालाई काम सघाउथिन बिरामीका कुराहरू सुनाउँदै । ड्युटी त सधैं हुन्थ्यो बिदाको दिन बाहेक तर नाइट ड्युटी गा¥हो लाग्थ्यो आमा र नानीलाई एक्लै छोड्नु पर्दा । थाकेकी छौ निन्द्रा पनि लाग्यो होला जाउ सुत म खाना पाकेपछी उठाउछु । कति माया प्रेम सासू र बुहारीको । तर कहाँ मान्नु र कल्पनाको मनले । खाना खाइ काम सकाएर मात्र सुत्थिन त्यही पनि मात्र दुई घण्टा । “आमा, थाहा छ हजुरलाई ? आज बुढी आमा आउनु भएको बिरामी भएर । कस्तो बच्चा जस्तो केही गर्न नमान्ने । औषधि खान त झनै नमान्ने । सानो बच्चालाई जस्तो कोच्याएर खुवाउनु पर्ने ।अरुलाई त कति नटेर्ने । मैले फकाएर खुवाए अनि मात्र खानु भयो ।’
कति मीठो कुरा कल्पनाको ईश्वरीलाई गर्व लाग्छ बुहारी देखेर । रुपकी रानी असल शिलस्वभावकी खानी नपाउनु बुहारी । ईश्वरीको सधैं एउटै प्राथना हुन्थ्यो । ‘जति दुःख पाउनु मैले पहिल्यै पाए अब खुशी र सुख मात्र आओस हाम्रो जिवनमा । हे भगवान यो सानो झुपडीमा भुलेर पनि दुःख र अशान्तीले कहिल्यै नचियाओस ।’
ङिच्च ङिच्च हासेर निदाएकी छोरीलाई हेरिरहिन कल्पनाले एकोहोरो के–के सोच्दै । सधैं को जस्तो फुर्ती छैन शरीरमा न त बोल्न मन नै । शरीर सन्चै छ । न ज्वरो , न रुघाखोकी न त कुनै बाहिरी चोटपटक नै तर किन बिसन्चो को महसुस ? आखिर काम उहि उस्तै हो सधैंको जस्तो । छोरी अझै निदाइरहेकी थिइ । छोरीको छेउमा गएर पल्टिन र भुसुक्क निदाइन । उनको मनस्थिति कस्तो कस्तो कुराले चल्दैछ सायद उनैलाई थाहा छैन ।
कल्पना भित्र पसिसकेकिले ईश्वरी बाहिरै भुलिन । केही छिनमा काम सकेर ढकीभरी फुल लिदै भित्र पसिन । बुहारीको कोठाको ढोका खुल्लै थियो । लुगै नफेरी नानीको छेउमा कल्पना निदाएको देखेर अचम्म मान्दै ‘आज के भो यिनलाई ? कतै बिसन्चो त भएन ? कामको लोड भएर होला आउँदा आउँदै जागीर छोड्ने कुरा गरेकी । नत्र अरुबेला नाइट ड्युटी गरेर आएपछि सुत भन्दा पनि मान्दिन थिइन् । धत, पापी मन मेरो । अघि के–के, के–के सोच्नु हुने नहुने सोचेछु। उनलाई नै सन्चो नभएको रहेछ । बिचरी बिसन्चो ज्यान लिएर पनि आफ्नो कर्तव्य नछोडेकी । ‘निधार छामिन कल्पनाको अलिअलि रन्किएको थियो । खाना पाकेपछी उठाउला एकछिन सुतुन भन्दै नित्य कर्म तिर लागिन ईश्वरी ।
केहिछिनमै कल्पनाका आमाछोरी उठेर भान्सातिर आए । तर मुहार सधैं जस्तो उज्यालो थिएन कल्पनाको । बिहानको काम सबै सकाएर ईश्वरीले खाना पकाइसकेकी थिइन् । बुहारीले चिया नखाने भनेपछि खानै ठिक पारिन । तिनैजना खान बसे सधैं जसरी नै । गफ गर्दै खाने भान्सामा सन्नाटा छाएको थियो केवल डाडु पन्यौको आवाज बाहेक । ईश्वरीले पुलुक्क हेरिन आफ्नी बुहारीलाई । मीठो मानेर सासुको तारिफ गर्दै खाने बुहारीको थालमा भात मुसाइ र मुखमा गाँस प¥ुयाइको चाला ढाला धेरै भिन्न थियो ।
असहय भयो ईश्वरीलाई । कसरी सोधु ? के भनेर सोधु ? किन जागिर छोड्ने ? म बाट केही गल्ती पो भयो कि ! भो अहिले खाने बेला यस्तो कुरा गर्नु हुन्न । चुपचाप जति रुचेको खाए तिनै जनाले । खाइसकेपछी जुठा भाडा बटुलेर माझ्न थालिन् कल्पना । त्यही मौका छोपिन ईश्वरीले ।
‘बुहारी, म गर्छु । जाउ तिमी आराम गर । तिमीलाई सन्चो छैन जस्तो छ । आराम हुँदा त तिमीले गरेकै छौ नि ! यस्तो चिसोमा रातभरी खटेर आएकी छौ ।’ सासू तिर पुलुक्क हेर्दै, ‘कति मिठो माया छ म माथी जन्म दिने आमाको भन्दा पनि बढी । कतै पुर्ब जन्ममा हामी साच्चिकै आमा छोरी नै थियौं कि ! कसरी र के मुखले भनु मेरो पिडा आमासँग । भनु भने कतै मलाई नै नराम्रो पो सोच्नु हुने हो कि ! घर परिवार, चाडबाड सबै छोडेर हाम्रो सुखको लागि बिदेश बस्नु भएका श्रीमानले थाह ंपाए के सोच्नु होला ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक