सहकारीले आयात प्रतिस्थापनमा ध्यान दिनुपर्छ: देवकोटा

काठमाडौँ,  १५ चैत्र ।

राष्ट्रिय सहकारी संघका लेखा संयोजक धर्मदत्त देवकोटाले सहकारीमार्फत उत्पादन वृद्वि गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए ।

sahakari

५८ औं सहकारी दिवसको अवसरमा धापासी बहुउद्देश्यीय सहकारी संस्थाद्वारा आयोजित सहकारीकर्मीबीच इनडोर खेलकुद तथा नवनिर्वाचित जिल्ला संघका पदाधिकरीको ‘सम्मान’ कार्यक्रममा बोल्दै लेखा संयोजक देवकोटाले सहकारीले कृषि उत्पादन वृद्वि गरी देशलाई आत्मननिर्भर बनाउनुपर्नेमा जोड दिएका हुन् । सहकारीमार्फत रोजगारी सिर्जना, समनतामूलक सामाज तथा सामाजिक न्याय निर्माण गर्न र आत्मनिर्भर देशका लागि सहकारी अपरिहार्य भइसकेको बताए । स्रोत साधनमा देश प्रचुर धनी भएपनि सदुपयोग गर्न नसकेकाले नेपाल सधै पछि परेको उनको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले अर्थतन्त्रको तीनखम्बेबाट सहकारीलाई हटाउने षडयन्त्र भइरहेको बताए । ‘सहकारी सबल खम्बाका रुपमा स्थापित गर्न सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ, बैंकले उत्पादनशील क्षेत्रमा प्राथमिकता दिइरहेको छ’ उनले भने । सहकारीकर्मी एकताबद्व हुन नसके सहकारीका विरोधीले सहकारी क्षेत्र तहसनहस बनाउने बताए । सहकारी व्यवसायिक र उत्पादनशील हुन सके तीनखम्बेमा सबल खम्बाका रुपमा स्थापित हुन सक्ने उल्लेख गरे ।

‘सहकारीमा राजनीतिक विकृति भित्रियो, यसले सहकारीको बदनाम गर्छ’ उनले भने । सहकारीकर्मी एकताबद्व हुन नसके सहकारीका विरोधीले आक्रमण गरी विचलित बनाउन सक्ने खतरा रहेको उनको भनाई थियो ।  जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईले सहकारीले बचत तथा ऋणमा मात्र केन्द्रित रहे आयात प्रतिस्थापनमा सहकारीको योगदान नपुग्ने बताए । ‘सहकारीका चुनौती र अवसर उत्तिकै छन्, हामीले सहकारीलाई सबल खम्बाका रुपमा स्थापित गर्न उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने छ’ उनले भने ।

उक्त दिवसको अवसरमा संस्थाले इनडोर प्रतियोगिता, बाल्टिनमा पानी भर्ने प्रतियोगिता तथा चम्पामा कलम राख्ने प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितमा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरियो ।

 

तपाइँको प्रतिक्रिया ।