जाँदा लगाएर गएको सून आउँदा चेकिङ गरेर तस्करी गरेको भन्दै फसाइयोः टेण्डी शेर्पा

जाँदा लगाएर गएको सून आउँदा चेकिङ गरेर तस्करी गरेको भन्दै फसाइयोः टेण्डी शेर्पा

11075068_886351534755724_878831024_n

कपन अनलाइन\चैत्र १५, २०७१
खेलकुद परिषद्का उपाध्यक्ष टेण्डी शेर्पाले नेपालबाट जाँदा लगाएर गएको सून फर्किएर आउँदा  तस्करी भन्दै नियतबस  आफूलाई समातिएको बताएका छन् । हिजो त्रिभुवन विमानस्थलमा २५ तोला सुन लुकाएर ल्याएको भनेर उनलाई गिरफ्तार गरिएको थियो । आज साँझ एक पत्रकार सम्मेलन गर्दै बास्केटबल संघका अध्यक्षसमेत रहेका शेर्पाले “मसँधै गहना लगाउने मान्छे हो । नेपालमा रहँदा वा विदेशजाँदा म जहिले पनि ब्रासलेट, चेन तथा औंठीको लगाउने गर्छु । जाँदा केही नभनिएको तर आउँदा त्यही लगाइराखेको ब्रासलेटलाई तस्करी भनेर फसाउने प्रयास गरियो ।”

टेण्डीले हङकङबाट फर्किदा ६ तोला सुन किनेको बिलसमेत सम्बन्धित पक्षलाई बुझाएको जनाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै उनले १९ तोलाको ब्रासलेट आफूले सँधै लगाउने ब्रासलेट भएको बताए । यत्रो सुन लगाउने हैसियत कहाँ बाट भयो भन्ने पत्रकारहरुको प्रश्नमा उनले यो १९ तोलको ब्रासलेट एकैपटक बनाएको नभैकन पटकपटक गरेर बनाएको बताएका थिए । नेकपा एमालेका युवा नेताको रुपमा चिनिएका टेण्डीले खेलकुद परिषद्बाट उपाध्यक्षको रुपमा प्राप्त हुने बिभिन्न भत्तालगायतका आम्दानी सामाजिक क्षेत्रमा लगानी गर्ने गरेका छन् । पत्रकार सम्मेलनमा आफु तलब भत्ताको समेत बिरोधी मानिस भएको जानकारी दिँदै २५ तोला सुन तस्करी गर्दा बढिमा ५० हजार आम्दानी गर्न सकिने बताउँदै त्यतिनै  पैसाका लागि तस्करी गर्नु पर्ने आफ्नो हैसियत नभएको स्पष्ट पारेका थिए ।

हिजो गिरफ्तार गरिएका टेण्डी शेर्पा आज १३ लाख विगो राखेर धरौटीमा रिहा भएका छन् । उनको यो केश अनुसन्धानमा नै रहेको  हुँदा यो केसको अनुसन्धानमा आफूले सहयोग गर्ने तथा आफूले लगाएको १९ तोला सुनको बिल पनि उपलब्ध गराउने जानकारी पत्रकारलाई दिए ।

 

तपाइँको प्रतिक्रिया ।