प्रेम प्रस्ताव अस्वीकार गर्दा धमाधम युवतीमाथि एसिड आक्रमण, राजधानी असुरक्षीत

काठमाडौँ, १३ चैत – प्रेम प्रस्ताव अस्वीकार गरेको बदलामा अर्की युवतीमाथि एसिड आक्रमण गर्ने अनुप रानालाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुरको मंगलबजारमा युवतीमाथि एसिड आक्रमण गर्ने रानालाई प्रहरीले पक्राउ गरेपछि प्रेम अस्वीकार गरेको बदला दिन एसिड आक्रमण भएको खुलासा भएको हो। मंगलबजारको कृष्ण मन्दिर परिसरमा गत माघ ८ गते साँझ २२ वर्षकी अन्जना तण्डुकारमाथि एसिड आक्रमण भएको थियो।

फागुन १० गते बसन्तपुरमा दुई किशोरीमाथि एसिड आक्रमण भएको घटनाले ठूलो चर्चा पाए पनि अन्जनामाथिको आक्रमण गुपचुप नै राखिएको थियो। ललितपुरको घटना ३ महिना पछि मात्र सार्वजनिक भएको छ। प्रहरीका अनुसार एसिड आक्रमणबाट तण्डुकारको निधार र दायाँ गालामा असर परेको छ। तन्डुकारको घाउ अझै पूर्णरूपमा निको हुन सकेको छैन।

घटना लगत्तै अन्जनालाई पाटन अस्पताल लगेर उपचार गरिएको थियो। प्रहरीका अनुसार अनुप र अञ्जना बालकुमारीको माइलस्टोन केलजमा बीबीएस तेस्रो बर्षमा अध्ययनरत थिए। अनुपले एसएमएसबाट प्रेम प्रस्ताव राख्ने गरेका थिए। एसिड आक्रमणमा संलग्न टिकाथलीका २० वर्षका अनुप राना मगरलाई प्रहरीले पक्राउ गरेको प्रहरी अपराध महाशाखाका एसएसपी पुस्कर कार्कीले जानकारी दिए।

ललितपुरमा ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेकाले उनलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ। ललितपुर प्रहरीका डीएसपी किसन सिंह थापाका अनुसार फागुन १२ गते मुद्दा दार्ता भएको थियो भने मगर चैत १० गते पक्राउ परेका हुन्।

तपाइँको प्रतिक्रिया ।