पसिनाको मूल्य : लता केसी ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २५।
उनीहरू देउरानी जेठानी थिए । दुबैका श्रीमान बिदेशमा काम गर्थे। गाउँमा खेती किसानीले दिक्क भएर उनीहरू सहर पसे । सधैझैँ आज पनि उनीहरू साँझपख घुम्न निस्किए । फर्कदा तरकारी किन्न तरकारी बजार छिरे । हरिया ताजा तरकारी प्रशस्त थियो । बैनीले असन्तोष व्यक्त गरी, ‘सबै विषादियुक्त, आयातीत हो दिदी ! हाम्रो स्वास्थ्यको चिन्ता सरोकारवालालाई भए पो ! कृषिप्रधान देश भन्न नि लाजै मर्दो भयो ।’
‘गाउँ छाडेपछि अर्गानिक तरकारी त कहाँबाट पाउनु ? स्वादे जिब्रो मात्तिन दिनु पनि भएन नि, बैनी । सहरको चलन बजारमा जे आउँछ किनेर खानै प¥यो ।’
बैनीले माटोसँग खेलेको सम्झिदै भनी, ‘किसानको जीवन, काम गर्न दुख ! हिलो, माटो, पानी, दिनरात केही भन्न नपाइने तर स्वस्थ जीवन है ।’
उनीहरू गफ्फिदै थिए । उत्ति नै बेला एउटी महिला डोकोमा तरकारी लिएर कराइन्, ‘ल आयो है, अर्गानिक तरकारी ! आफ्नै माटोमा आफ्नै पसिना खन्याएको शुद्ध र ताजा ताजा !’
‘के खोज्छस् काना ? आँखा ! भनेझैँ उनीहरू लामो पाइलाले त्यहाँ पुगे । एकैछिनमा भिँड बढ्यो । झोलाभरि तरकारी किने । ग्राहकहरू तरकारी किन्दै बोनसमा हरिया खुर्सानी र धनियाँ माग्दै थिए । ‘जाबो धनिया र खुर्सानी त हो’ भन्दै एउटीले त हातै हालेर मुठ्याउन भ्याइन् । तरकारीवालीले हातबाट खोस्दै भन्न थालिन्,
‘तपाईँहरूलाई किसानको पसिनाको मूल्य के थाहा ? बेमौसमी धनियाँ र खुर्सानी माटोमा, बोनसमा फल्छ र ?’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक