सेन्ट लरेन्स कलेज चाबहिलले रजत जयन्ती मनायो

सेन्ट लरेन्स कलेज चाबहिलले रजत जयन्ती मनायो

कपन अनलाइन

काठमाडौं मंगसिर २१ ।चावहिल पिपलबोटमा रहेको  सेन्ट लरेन्स कलेजले रजत जयन्ती मनाएको छ । शुक्रबार कमलादीस्थित प्रज्ञा भवनमा २५ औं वसन्त पार गरेको उपलक्ष्यमा रजत जयन्ती मनाएको हो ।उक्त कार्यक्रमका प्रमुख अतिथिको रुपमा  पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका थिए । उनले शुभकामना मन्तब्य राख्दै  ‘सेन्ट लरेन्सले २५ वर्ष पुरा गर्दै नयाँ यात्रा तय गरेको छ,’ ‘यो अवधिमा हासिल गरेका सफलता, असफलता, चूनौति लगायतका बारे समिक्षा गर्नुपर्छ । अनिमात्र अघिको यात्रा तय गर्न सहज हुन्छ ,कार्यक्रममा बोल्दै उनले आफ्नो विद्यार्थीकालको अनुभवसमेत सुनाए । ‘मैले एसएलसी दिएको ५५ वर्ष भएछ र कलेज भर्ना भएको ५४ वर्ष बितेछ । मेरो चाटर्ड अकाउन्टेन्ट बन्ने ठूलो सपना थियो तर पुरा भएन,’ उनले भने, ‘मेरो रुचि समाजसेवामा थियो त्यसैले कोर्स राजनीति तर्फ मोडियो ।

’कलेजका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदीले २५ वर्षसम्म कलेजले सञ्चालन गरेका कार्यक्रमलाई थप स्तरीय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका थिए  । ‘हामीले अहिलेसम्म जे–जे गर्यौं अब त्यसलाई थप परिस्कृत बनाउनेछौं,’ उनले भने, ‘हाम्रो गहना भनेकै विद्यार्थीहरु हो उहाँहरुलाई कसरी गुणस्तरीय शिक्षा दिने भन्नेमा दिनरात खटिनेछौं ।

प्रिन्सिपल पुरुषोत्तम श्रेष्ठ टीम वर्कमा काम गरेकाले यो सफलता हासिल गरेको बताउँछन् । अहिले सेन्ट लरेन्सको छाताभित्र ३५०० विद्यार्थी अध्ययनरत छन् । ‘३५०० विद्यार्थी छन् भन्न पाउँदा गर्व लाग्छ,’ उनले भने, ‘यसको सफलताको सुत्र भनेकै टिम वर्क हो ।’ कार्यक्रममा भूतपूर्व विद्यार्थीहरुलाई रजत विद्यार्थीबाट सम्मानित गरिएको थियो । ‘अहिले १० जनालाईमात्र सम्मान गर्यौं अब छिट्टै २५ वर्षयताका विद्यार्थीलाई भेला पारेर सम्मानगर्छौ,’ श्रेष्ठले योजना सुनाए ।

अध्यक्ष केशवप्रसाद दंगालले कलेजले २५ औं वर्ष पार गर्दै गर्दा विद्यार्थी, अभिभावक र शिक्षाप्रेमीले गरेको विश्वासलाई टुट्न नदिने बाचा गरे । ‘सबैको विश्वास र हाम्रा फ्याकल्टिजहरुको मेहनतले हामी नेपालकै टप कलेजको सूचीमा गनिन्छौं,’ उनले भने, ‘हाम्रो गुणस्तरीयता र विश्वास कायम राख्न हरपल प्रयत्न गरिरहनेछौं ।’

कार्यक्रममा विभिन्न संकायका उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरिएको थियो  । वातावरण जोगाउने अभियानमा काम गर्दै आएको ग्रिन आर्मीलगायत कलेजमा गठिन विभिन्न क्लबका सदस्यलाई सम्मान गरिएको थियो । ग्रिन आर्मीमा यस कलेजबाट ६० जना क्याडेट आवद्ध छन् । उनीहरुलाई व्याच वितरण गरिएको थियो । यसैगरी, कलेजले रजत जयन्तीकै अवसरमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत समेत गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।