कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा कृष्ण बानियाँ (सबुज) र उपेन्द्र कार्कीबीच प्रतिस्पर्धा हुने

कपन अनलाइन

काठमाडौँ, मंगसिर १० नेपाली कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा कृष्ण बानियाँ (सबुज) र उपेन्द्र कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ ।कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्ला अधिवेशनमा बानियाँ र कार्कीबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो । बानियाँ काठमाडौं सभापतिमा दोहोरिने तयारीमा हुन् भने कार्की यसअघि काठमाडौं क्षेत्र नम्बर २ को सभापति थिए । कार्कीले बिहीबार काठमाडौंमा  एक कार्यक्रमका बीच

जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।  उक्त कार्यक्रममा काग्रेसका  सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य अम्बिका बस्नेत, किरण गिरी, सांसद भीमसेनदास प्रधान, काठमाडौं–४ का पूर्व क्षेत्रीय सभापति राजु श्रेष्ठ लगायतको  उपस्थिति रहेको थियो   ।पार्टी संस्थापननिकट उनलाई कांग्रेस नेता एवं पूर्व रक्षामन्त्री प्रधान समूहको समर्थन रहेको छ ।बानियाँ भने कांग्रेस नेता प्रकाशमान सिंह निकट हुन् । उनलाई काठमाडौंकै अर्का नेता गगनकुमार थापाको समर्थन छ । प्रकाशमान–गगन समूहले बानियाँलाई काठमाडौं सभापतिमा दोहोर्‍याउने यसअघि नै निर्णय गरिसकेका छन् ।कांग्रेसको जारी अधिवेशनमा काठमाडौंमा प्रकाशमान–गगन एउटा समूहमा छन् भने संस्थापन समूह र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता प्रधान एक ठाउँमा छन् ।

तपाइँको प्रतिक्रिया ।