‘डा. यादवसँग प्रधानमन्त्रीले झुट बोलेका थिए’

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशका प्रमुख राजनीतिक शक्तिहरुसँग परामर्श नगरी एकपक्षीय रुपमा मंसिर ७ गतेका लागि संविधान सभाको नयां निर्वाचन घोषणा गरेपछि देशमा राजनीतिक र संवैधानिक रिक्तता बढेको छ ।
अन्तरिम संविधानमा संसद सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने उल्लेख भएकाले भट्टराईको पद के हुने भन्ने प्रश्न जटिल बनेर आएको छ, यतिमात्र नभई एकपक्षीय चुनाव घोषणापछि यसको संवैधानिक हैसियतमा पनि प्रश्न उठेको छ । अन्तरिम संविधानमा संविधान सभाको चुनाव २ पटक हुने प्रावधान छैन, अनि निर्वाचन ऐन पनि नरहेकाले यसमा गहिरो बहस सुरु भएको छ ।
यो परिस्थितिमा सबैको ध्यान राष्ट्रपति डा. रामवरण यादवतिर तानिएको छ । संविधानको संरक्षकको हैसियतले उनले राजनीतिक दुर्घटना हुन नदिन केही कदम चाल्ने हुन कि भन्ने जनअपेक्षा एकातिर छ भने राजनीतिक दलहरुले नै एक्टिभ हुन आह्वान गरिसकेको अवस्था छ ।
यसैबीच हिजो प्रधानमन्त्रीले चुनाव घोषणाको जानकारी दिने क्रममा राष्ट्रपतिसँग भएका कुराकानीबारे हामीले विशेष जानकारी प्राप्त गरेका छौ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार राति साढे एघार बजे प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेका थिए । त्यस क्रममा राष्ट्रपतिलाई झुट बालेका रहेछन, प्रधानमन्त्रीले ।

‘उता संविधान सभाको बैठक चलिरहेको छ, यदि त्यहां सहमति नभए वैकल्पिक उपाय पनि खोजौ भनेर चुनाव घोषणाको जानकारी लिएर आएको हुँ’ प्रधानमन्त्रीले राष्ट्रपतिलाई भनेको उद्धृत गर्दै दाहालले इमेज एफएमसँग भने ।
उता, हिजो भएको भेटमा प्रधानमन्त्रीलाई राष्ट्रपतिले कडा प्रश्नहरु गरेपछि प्रधानमन्त्री रातोपिरो भएर हिडेको उच्चस्तरीय सूत्रहरुले जनाएका छन् ।
प्राप्त जानकारी अनुसार, राष्ट्रपतिले प्रधानमन्त्रीलाई सोधेका थिए–संविधान सभाको समय बाँकी हुँदै किन निर्वाचनको निर्णय गरेको ? संविधान सभा विघटन नै भएको भए औपचारिक जानकारी गराएपछि अन्य कदमबारे जानकारी गराउनु होला । यदि संविधान सभा र संसद विघटन भयो भने अन्तरिम संविधान अनुसार तपाई पदमा रहन मिल्छ कि मिल्दैन ? निर्वाचन घोषणा गर्न अन्तरिम संविधान र कानून बमोजिमका प्रक्रिया पूरा गरिएको छ कि छैन ? अनि चार चार वर्षसम्म संविधान किन बनेन ?
राष्ट्रपतिको यति कडा प्रश्नको प्रधानमन्त्रीले स्पष्ट जवाफ दिन नसकेको बताइन्छ । त्यही कारण उनी आक्रोशित हुँदै राष्ट्रपति निवासबाट बाहिरिएका थिए र बालुवाटार पुगेर भनेका थिए– राष्ट्रपतिले मेरो कदममा रुकमाङगत कटवाल प्रकरण जस्तो गर्नु हुने छैन । कार्यकारी अधिकार मै मा रहन्छ ।
प्रधानमन्त्रीको यो कुराको जवाफ दिन राष्ट्रपतिले परामर्श गरिरहनु भएको छ । आजै बिहान प्रधानन्यायाधीश खिलराज रेग्मीसँग परामर्श गर्नु भएको थियो ।
प्रेस सल्लाहकार दाहालका अनुसार, अन्तरिम संविधान, प्रचलित कानून र राजनीतिक वस्तुस्थितिको गम्भीर अध्ययन गरेर मात्र राष्ट्रपति कुनै पनि निष्कर्षमा पुग्नु हुनेछ । यद्यपी घनीभूत परामर्श भने भोलिबाट सुरु हुनेछ ।

तपाइँको प्रतिक्रिया ।