गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिको शुभकामना

१५ जेठ, काठमाडौ । डा. रामवरण यादवले देशले गणतन्त्रात्मक शासन पद्धति अवलम्बन गरेको पाँचौँ वाषिर्कोत्सवको अवसरमा आज स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दाजुभाइ, दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

सामन्ती संस्कार एवम् निरङ्कुश शासन प्रणालीबाट मुक्ति र लोकतान्त्रिक गणतन्त्र स्थापनाको सङ्घर्षमा जीवन आहुति गर्ने अज्ञात सहिदप्रति उनले  सम्मान र श्रद्धाञ्जलि पनि अर्पण गरेका छन् ।
ठूलो सङ्घर्ष र बलिदानपछि गठित संविधानसभाको अप्रत्याशित अवसान हामी सबैका निम्ति गम्भीर चिन्ता र अफसोचको विषय भएको छ भन्दै राष्ट्रपतिले जनताका प्रतिनिधिबाट निर्मित लोकतान्त्रिक संविधानका माध्यमबाट नेपाललाई अझ सुन्दर, शान्त र समृद्ध तुल्याउने हाम्रो ६ दशक पुरानो सपना फेरि पनि अपुरो नै रहेको र संविधानसभाबाट चार वर्षमा पनि संविधान बन्न नसक्दा सबैलाई खिन्नताबोध भएको आफ्नो सन्देशमा उनले बताएका छन् ।
सन्देशमा भनिएको छ- विगतका कमीकमजोरीका समीक्षा गर्दै मुलुकको राजनीतिलाई लोकतन्त्रको मार्गमा अघि बढाउनाको विकल्प छैन । यस सर्न्दर्भमा अन्तरिम संविधान, २०६३ ले हामीलाई भोलिका दिनमा पनि मार्गदर्शन गर्ने नै छ । मुलुकले विगतमा पटक पटक हासिल गरेका लोकतान्त्रिक उपलब्धिलाई संस्थागत र सुदृढ तुल्याउन नसकेको यथार्थ स्मरण गर्दै आगामी दिनमा हाम्रा राजीतिक शक्ति र व्यक्ति विशेष रुपमा सचेत रहनेछन् भन्ने अपेक्षा गरेको छु ।
विसं २०६२-६३ को जनआन्दोलन र अन्तरिम संविधान, २०६३ बाट प्राप्त गणतन्त्र, समावेशी लोकतान्त्रिक शासन प्रणाली, सङ्घीयता, धर्मनिरपेक्षताजस्ता उपलब्धि र विशेषतालाई मुलुकले आत्मसात् गरिसकेको छ, यी उपलब्धिबाट अब कोही पनि पछि हट्न सक्ने छैनन् भन्दै उनले राजनीतिक सङ्क्रमणको अहिलेको घडीमा समाज र मुलुकमा आपसी भाइचारा एवम् सामाजिक सद्भाव कायम गर्न उनले सम्पूर्ण देशवासीसँग विशेष आग्रह गरेका छन् । रासस
तपाइँको प्रतिक्रिया ।