राजनीतिबाट विश्राम लिने ठाकुर खकुरेलको घोषणा,माओवादी केन्द्र बुढानिलकण्ठलाई गम्भीर धक्का
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १७।
नेकपा माओवादी केन्द्र बुढानिलकण्ठका प्रभावशाली नेता ठाकुर प्रसाद खकुरेलले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन। कार्तिक १६ गते एक बिज्ञप्ति जारी गर्दै उनले पाँच दशक भन्दा लामो सक्रिय राजनीतिक जीवनबाट विश्राम लिने बताएका हुन्।
कठोर पंचायती कालमा तिसको दशक देखि बामपन्थी राजनीतिमा होमिएका खकुरेलले एकाएक सक्रीय राजनीतिबाट विदा लिँदा नेकपा माओवादी केन्द्र बुढानिलकण्ठलाई भने गम्भीर धक्का लागेको चर्चा चलेको छ।
सिन्धुपाल्चोक,काभ्रेपलाञ्चोक ,सर्लाही हुदै काठमाण्डौ जिल्लाको राजनीतिमा सक्रिय रहेका उनले नेकपा माले , नेकपा एमाले हुदै नेकपा माओवादी केन्द्रमा विभिन्न जिम्मेवारी बहन गरेका थिए।
नेकपा एमाले कपनको तत्कालिन सचिव रहेर युवाहरुलाई राजनीतिमा ल्याउन गहन भूमिका खेलेका खकुरेल पछिल्लो समय नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका थिए।
पछिल्लो समय नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएको विवाद र विभाजनले निकै निरास बनेका उनले आगामी समय कुनै पनि सक्रिय राजनीतिक भूमिकामा नरहने घोषणा गर्दै आफ्नो विगतलाई स्मरण समेत गरेका छन।
काभ्रेपलाञ्चोकको खरेल थोकमा जन्मिएर तत्कालिन व्यवस्था संग विद्रोह गर्दै कम्युनिस्ट आन्दोलनमा होमिएका खकुरेल शिक्षण सेवा बाट अबकास प्राप्त गरेका थिए।
कपन क्षेत्रमा नेकपा एमालेको राजनीतिमा संगठन विस्तार र नेतृत्व पुस्तान्तरणमा निर्णायक भूमिका निर्वाह गरेका खकुरेलको आकस्मिक घोषणाले नगरपालिकाको राजनीति निकै गर्माएको छ भने विभिन्न अनुमान र अड्कलवाजी समेत गर्न थालिएको छ।