प्रिय छोरा : शान्ता दाहाल

प्रिय छोरा : शान्ता दाहाल

कपन अनलाइन
काठमाडौं, असोज १०।

प्रिय छोरा,

आज तिमीलाई लक्का जवान, आफ्नै खुट्टामा उभिएर समाजमा एउटा अनुशासित र सफलताको बाटोमा अघि बढेको देख्नु एउटी आमाका लागि ससारलाई जितेको महसुु हुनु हो ।

आजभोलि घरीघरी अतीतका ती दिनहरू सम्झिन्छु—त्यो दिन जब तिमी मेरो पेटमा आयौ। तिम्रो आगमनको खबरले मेरो संसारमा एउटा नयाँ आशा र सपनाको उज्यालो छाएको थियो। तर त्यो ९ महिनाको गर्भावस्थाको यात्रा सजिलो भने पक्कै थिएन। गर्भावस्थाको त्यो गहिरो पीडा आज पनि मेरो मनमा ताजा छ।

तिमीलाई पेटमा बोकेर हिँड्दा सहेको शारीरिक र मानसिक कष्ट शब्दमा भन्न सकिन्न। बिहानपखको उल्टी, रातभर निद्रा नलाग्नु, र शरीरका हरेक अङ्ग दुख्नुका बाबजुद मैले तिमीलाई आफ्नो गर्भमा जतनले जोगाएर राखेँ।

तर जब तिमी पेटभित्र सलबलाउँथ्यौ, मेरो सबै थकान र पीडा एउटै क्षणमा मेटिन्थ्यो। यो पीडा मेरो लागि एउटा आमा हुनुको सबैभन्दा ठूलो तपस्या थियो, जुन मैले तिम्रो सुन्दर भविष्यका लागि खुसी-खुसी सहेँ।

त्यसपछि आयो तिमीलाई यो संसारमा ल्याउने दिन। प्रसव पीडा (Labor pain) को त्यो कहालीलाग्दो क्षण मैले आज पनि भुलेकी छैन—शरीर नै फाट्ने जस्तो त्यो असह्य पीडा सहनु मेरो जीवनको सबैभन्दा ठूलो सङ्घर्ष थियो।सबैले आशा मारिसकेको त्यो मेरो शरिर म थिइन । घरमा रुवाबासी चलेको थियो ।

समय नपुग्दै बेहोशीमा ढलेको मेरो शरिर लडेको मूढा थियो । को बाच्ने र कसको मृत्युवरणलाई स्वीकार्ने मनमा हुटहुटी थियो । भाग्यले दुबै बाच्याैँ । तिमी जन्मिएको केहि दिन सम्म पनि मलाई थाहा नै भएन म कहाँ छु अनि तिमी कस्तो छाै। जब पहिलो रुवाइ मेरो कानमा पर्यो, मेरो सम्पूर्ण दुखाइ एकै पटक हराएर गयो।

तिम्रो त्यो सानो र निष्पाप अनुहार देख्दा मेरो आमा हुनुको सार्थकता पूरा भएको महसुस भयो। तिमीलाई हुर्काउन र पढाउन गरेको सङ्घर्ष कम थिएन।

तिमी बिरामी पर्दा रातभर नसुती कुरेर बस्नु, तिम्रो आँसुको थोपासँगै मेरो मन रुनु, र तिम्रो राम्रो शिक्षाका लागि आफ्ना इच्छा र आवश्यकताहरू मारेर पैसा जोगाउनु नै मेरो दैनिकी थियो। तिमीले समाजमा शिर ठाडो गरेर बाँच्नु पर्छ, एउटा ज्ञानी र असल मान्छे बन्नु आफ्पनो पूर्खाले दिएको बिरासत बिर्सनु हुदैन भन्ने लाग्थ्यो । त्यसका लागि मैले घाम, पानी, भोक र थकानको कहिल्यै प्रवाह गरिन।

आज तिमी यो समाजमा एउटा समझदार युवा बनेका छौ। समाजका आफ्नै कुराहरू हुन्छन्—विविध विचार र अनेकौँ मोडहरू आउनेछन्। तर तिमीले आफ्नो संस्कृति, रीतिरिवाज र आमा-बुबाले दिएको संस्कारलाई कहिल्यै नभुल्नु। हाम्रो संस्कृतिले तिमीलाई सधैँ धरातलमा रहन, ठूलालाई आदर र सानालाई माया गर्न सिकाउँछ।

तिमी जतिनै आधुनिक र सफल भए पनि आफ्नो पहिचान र जगलाई सधैँ उच्च राख्नु। जीवनको यो मोडमा आइपुग्दा कहिले पनि तिमीमा देखिने झर्को, रिस, र गलत बाटोतिर ढल्कन खोजेका जस्ता तिम्रा कदमहरूले मेरो मन चसक्क नदुखाअोस्। तिमीलाई सानैदेखि काखमा च्यापेर, आफ्ना इच्छा र खुसीहरू मारेर यो ठाउँसम्म पुर्याएकी आमा हुँ म—त्यसैले तिम्रो बोलीको भाका र हिँड्ने ढङ्गमा अलिकति मात्र परिवर्तन आयो भने पनि मेरो छाती झस्किन्छ।

मैले यो कुरा तिमीलाई गाली गर्न वा नियन्त्रण गर्न भनेकी होइन। जवान उमेरमा समाजका अनेकौँ प्रलोभन, नराम्रा सङ्गत र क्षणिक आनन्दले मानिसलाई सजिलै गलत बाटोतिर तान्न सक्छन्। तर सम्झिराख—छिटो पाइने खुसी र नराम्रा लतले सुरुमा मीठो अनुभव दिए पनि त्यसको अन्त्य सधैँ अँध्यारो र पछुतोमा हुन्छ। तिमीले उठाउने एउटा गलत कदमले तिम्रो भविष्य मात्र बर्बाद बनाउँदैन, वर्षौँदेखि तिम्रो लागि मैले सहेको गर्भावस्थाको पीडा, प्रसवको कष्ट र रातभर नसुती हुर्काएको सङ्घर्षको पनि अवमूल्यन हुन्छ।

समाजले तिमी सफल हुँदा ताली बजाउँछ र एउटा सानो गल्ती हुँदा औँला उठाउँछ। त्यसैले आफ्नो संस्कार, आफ्नो जग र आमाको पसिनालाई कहिल्यै नबिर्सनु।

मनमा कुनै तनाव वा अलमल छ भने झर्किएर होइन, मसँग आएर पोख। यो आमाको मन तिम्रो हरेक समस्या सुन्न र तिमीलाई सही बाटो देखाउन सधैँ तयार छ। छोरा, आफ्ना कदमहरूलाई सम्हाल्नु। गलत सङ्गत र नराम्रा लतबाट टाढा रहेर आफ्नो चरित्र र भविष्यलाई उज्ज्वल बनाउनु।

तिमी सही बाटोमा हिँडेको देख्नु नै मेरो जीवनको सबैभन्दा ठूलो खुसी हुनेछ। जीवनको यो बाटोमा सधैँ सत्य र इमानदारीको मार्गमा हिँड्नु।

कठिन परिस्थिति आए पनि आफ्नो चरित्रमा कहिल्यै आँच आउन नदिनु। मेरा ती गर्भावस्थाका पीडा, हुर्काउँदाका कष्ट र पढाउँदाका सङ्घर्षहरू आज तिम्रो प्रगति र असल बानी देख्दा सार्थक भएका छन्। सधैँ अघि बढिरहनू, मेरो धेरै-धेरै माया र असीम आशीर्वाद सधैँ तिम्रो साथमा छ।

तपाइँको प्रतिक्रिया ।