जनतामा चरम निराशा,अर्बौंको लगानी वालुवामा पानी सावित

नेपाली जनताको लामो संघर्ष र बलिदानपछि गठन भएको संविधान सभा आफ्नो काम पूरा नगरी गएको मध्यरातमा विघटन भएको छ । २०६४ साल चैत २८ गते निर्वाचन सम्पन्न भई २०६५ साल जेठ १५ गते पहिलो बैठक बसेर शुरु भएको संविधान सभा अन्ततः दलहरुको अकर्मण्यताका कारण त्यत्तिकै विघटन भयो । यस बीचमा नयाँ संविधान बनाउन संविधान सभा र दलहरुले प्रयास गरेपनि त्यो सवै ब्यर्थै सावित भएको छ ।

दुइ बर्षमा संविधान बनाउने जनादेशसहित गठन गरिएको संविधान सभाले चार चार पटक म्याद थप गर्दा पनि नेपाली जनतालाई संविधान दिन असफल भई २०६९ साल जेठ १४ गते मृत्युवरण गरेको छ । जसबाट नेपाली जनताको नयाँ संविधानको चाहनामा त कुठाराघात भएको छ नै यससंगै संविधान सभाको चुनाव प्रक्रियादेखि चार बर्षसम्म अर्बौं रुपैयाँको लगानी वालुवामा पानी हाले सरह भएको छ । जनतालाई संविधान दिन नचाहने र नसक्ने राजनीतिक दलहरु तथा राजनीतिकर्मीहरुको इतिहासले मूल्यांकन त गर्ला नै तर यतिवेला नेपाली जनतासंग निराशा भन्दा अरु केही पनि हात लागेको छैन । हामी पनि यत्रो आशा गरिएको संस्था कामै सम्पन्न नगरी विघटन भएकोमा उत्तिकै दुखी र स्तब्ध छौं ।

उता, संविधानसभामा बैठकका लागि भनेर दिनभर सभास्थल बानेश्वरमा कुरेपनि संविधानसभाको बैठक नै नबोलाई विघटन गराएपछि सभासदहरु निराश भएर फर्किएका थिए । संविधानसभाको बैठक सञ्चालन गर्न र संविधानसभा विघटन नगर्न सभासदहरुले नारावाजी गरेका थिए । तैपनि मूख्य दलका नेताहरु सभामै नआएपछि रातको १२ बज्न लागेपछि अन्ततः निकै निराश र हैरानीका साथ सभासदहरु निस्किए । संसद बैठक बोलाइएपनि बस्न सकेन ।

तपाइँको प्रतिक्रिया ।