देश दुख्दैछ मेरो : त्रिलोचन आचार्य ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,असोज २।

हर दिन प्रिय सुस्ता पर्छ रोई पसारो
हर क्षण सब बाटो छेउ देख्दा तगारो
मन मुटु सब ढाक्दै फैलिँदामा अँधेरो
अविरल बुझ साथी देश दुख्दैछ मेरो ।१।

नियतबश सिमाना खोजिँदैछन् चिथोर्न
किन कि तुइन काट्दै सक्दछन् ज्यान मार्न
तब त युवक आफ्नै भुल्छ पानी पँधेरो
विकल छु बुझ साथी देश दुख्दैछ मेरो ।२।

सकल जमिन हेरौँ फुँङ्ग छन् छैन बाली
अटल हिमचुलीमा छैन सौन्दर्य लाली
विवश तब छु हेर्नै भत्किएको कटेरो
विकट छ पथ साथी देश दुख्दैछ मेरो ।३।

प्रकृति अति नराम्रो खेल खेल्नै छ व्यस्त
मनुज मति यहाँका झेल गर्नै अभ्यस्त
तब नयन नसुक्ने आँसुको बोक्छ घेरो
गलित छु बुझ साथी देश दुख्दैछ मेरो ।४।

हरदम अगुवा नै स्वार्थका दास बन्छन्
जन बल तल पार्दै माथि उठ्नेछु भन्छन्
घर घर गरिबिले मार्न छाड्दैन फेरो
थकित छु बुझ साथी देश दुख्दैछ मेरो ।५।

भरसक रिन गर्दै बन्छ मेरो बजेट
भर भर जन माग्दै हात थापेर पेट
कलह छ कति शङ्का त्रासको बेर्नु फेरो
द्रवित छु बुझ साथी देश दुख्दैछ मेरो ।६।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।